बगै‌ंचा ठेक्का लिएर धमाधम सुन्तला टिप्दै व्यापारी

गत वर्षको तुलनामा ३० प्रतिशत उत्पादन हुने अनुमान भएपछि किसानबाट सुन्तलाकाे बगैंचा नै ठेक्कामा लिएका व्यापारी उत्साहित छन् ।

मंसिर २७, २०८२

हरिराम उप्रेती

Businessman busy picking oranges after taking a garden contract

What you should know

गोरखा — दसैंअघि नै गण्डकी गाउँपालिका–२ याङदीका बगैंचा ठेक्कामा लिएका बुद्धि आले यतिखेर पहेँलपुर सुन्तला टिप्न ब्यस्त छन् ।

आलेले पाँच जना किसानको बगैंचा दसैंअघि नै ठेक्कामा लिएका थिए । ‘यसरी सुन्तला बिक्री गर्न थालेको २०/२२ वर्ष भइसक्यो, यो वर्ष याङदी क्षेत्रमा मात्र २५ लाख लगानी गरेर सुन्तला किनेको छु,’ उनले भने,‘बगैंचा हेरेर ठेक्का लिने हो, कहिले नाफा कहिले घाटा व्यहोर्न सक्नुपर्छ ।’

बोटबाट टिपेको सुन्तला ग्रेडिङ गरेर बजार पुर्‍याउन आलेलाई यतिखेर भ्याइनभ्याइ छ । ‘चार ग्रेड छुट्टाएर बजार लगेको छु,’ उनले भने,‘ग्रेड अनुसारको ८० देखि १ सय २० रुपैयाँ प्रतिकेजीसम्म भाउ पाइएको छ ।’ 

किसानले पनि व्यापारीलाई बगैंचा नै ठेक्कामा दिएका छन् । याङदीकै तुलबहादुर थापाले ८७ बोट सुन्तला ३ लाख ८० हजार रुपैयाँमा बिक्री गरे । व्यापारीलाई बगैंचा नै बिक्री गर्दा बजार पुर्‍याउने झन्झट नहुने तुलबहादुर बताउाछन् । यो वर्ष याङदीमा सुन्तला राम्रो फलेपछि उत्साह बढेको उनले बताए । ‘धान, मकै लगाउने जग्गामा सुन्तला खेती गरे, परम्परागत खेतीबाट १० हजार पनि आम्दानी हुन्थेन, सुन्तला लगाएको तीन वर्ष भयो लाखको कमाई हुन थालेको छ,’ उनले भने । 

Businessman busy picking oranges after taking a garden contract

याङदी क्षेत्रमा मात्र व्यवसायिक रुपमा सुन्तला खेती गर्ने एक सय भन्दा बढी किसान छन् । पुराना बगैंचा नासिँदै गएपछि नयाँ बिरुवा लगाएर सुन्तला उत्पादन थालेको सुन्तला उत्पादक कृषि सहकारीका अध्यक्ष एकबहादुर थापाले बताए । ‘पहिले धेरै राम्रो सुन्तला हुन्थ्यो, पाँच वर्षअघिसम्म पनि यहीँ गाउँबाट एक करोडसम्मको सुन्तला बिक्री हुन्थ्यो,’ थापाले भने, ‘पुराना बोट मासिँदै गए, नयाँ बोटबाट आम्दानी आइसकेको छैन, यो वर्ष गाउँबाट ५० लाख जतिको सुन्तला बिक्री हुने अनुमान गरेका छौं ।’ 

याङदी क्षेत्रका एउटै किसानले साढे ५ लाखसम्मको सुन्तला बिक्री गरेको पनि उनले सुनाए । थापाले १० रोपनी क्षेत्रफलमा लगाएको नयाँ बोटका सुन्तला यो वर्ष एक लाख रुपैयाँमा बिक्री गरेका छन् । नयाँ बोटबाट पूरै फल्न थाले वार्षिक १० लाखसम्मको सुन्तला उत्पादन हुने उनको अनुमान छ । 

Businessman busy picking oranges after taking a garden contract

जिल्लामा सुन्तला खेती प्रबर्द्धनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यन्वयन इकाई गोरखाले सघाउँदै आएको छ । सुन्तला जोन कार्यक्रम मार्फत सुन्तला खेती प्रवर्द्धन गरिएको गण्डकी, सहिद लखन, भीमसेन थापा, गोरखा नगरपालिका र पालुङटारको वडा ९ र १० मा गत वर्षको तुलनामा सुन्तला उत्पादन बढ्ने इकाई प्रमुख पूर्ण ढुङ्गनाले बताइन् । ‘गत वर्षको तुलनामा ३० प्रतिशत सुन्तला उत्पादन बढ्ने अनुमान गरेका छौं,’ उनले भनिन्,‘यो वर्ष जिल्लाभर २९ सय ९० मेट्रिक टन उत्पादन हुने अनुमान छ, किसानले गएका वर्षमा लगाएको नयाँ बोटले पनि यस वर्ष उत्पादन दिन थालेको छ ।’

जिल्लाको १ हजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको उनले बताइन् । जिल्लाका ३ सय वढी किसान सुन्तला खेतीमा आबद्ध छन् । जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौं, पोखरालगायतका सहरसम्म बिक्री हुँदै आएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully