महिला अधिकार र संस्कृति संरक्षणको स्वर : पञ्चेबाजाको तालमै उठ्यो आवाज

गाउँदेखि सहरसम्मका आमा समूहहरू पञ्चेबाजाको स्वरसँगै आफ्ना अधिकार, पीडा र सम्भावनाका कथा सुनाउन भेला भए ।

मंसिर २५, २०८२

प्रतीक्षा काफ्ले

Voices for women's rights and cultural protection: Voices raised to the beat of the panchebazaar

काठमाडौँ — लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन स्याङ्जा संगीत, संस्कृति र महिला अधिकारको सशक्त समिश्रणले गुञ्जायमान बन्यो । गाउँदेखि सहरसम्मका आमा समूहहरू पञ्चेबाजाको स्वरसँगै आफ्ना अधिकार, पीडा र सम्भावनाका कथा सुनाउन भेला भए ।

एकीकृत सेवा कार्यालय स्याङ्जाले आयोजना गरेको महिला समूहहरूको पञ्चेबाजा प्रतियोगितामा सहभागी आमा समूहहरूले पञ्चेबाजाको लयमा हिंसाविरुद्धको सन्देश मात्रै बोलेनन्, उनीहरूले संस्कृतिको मौलिक धड्कन जोगाउने प्रतिबद्धतासमेत प्रस्तुत गरे । पञ्चेबाजाको तालसँगै महिलाहरूले आफ्नै जीवनका चोट–चिसोपन, संघर्ष र साहसलाई गीतमा उतार्दा उपस्थित सबै मन्त्रमुग्ध बने ।

प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँका आमा समूहहरूको सहभागिता रहेको थियो । एकुबार आमा समूह, भिरकोट नगरपालिकाले पहिलो स्थान प्राप्त गर्‍यो । दोस्रो स्थान राम्चेदेवी उद्यमशील महिला समूह, फेदीखोलले हासिल गर्‍यो भने तेस्रो र सान्त्वना स्थान क्रमशः मातृभूमि आमा समूह (पुतलीबजार) र विर्घा महिला पञ्चेबाजा समूह (कालीगण्डकी) ले हात पारे ।

Voices for women's rights and cultural protection: Voices raised to the beat of the panchebazaarविजेता समूहहरूलाई क्रमशः १२ हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सनई र ढोलक बजाउने महिलालाई छुट्टै सम्मान गरिएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिए ।

‘यो प्रतियोगिताले महिलामा सांगीतिक सीप कति सशक्त छ भन्ने स्पष्ट सन्देश दिएको छ,’ उनले भने । यसअघि बालबालिकाबीच पनि यस्तै पञ्चेबाजा प्रतियोगिता आयोजना गरिएको थियो ।

अधिकार, संस्कृति र आत्मविश्वासको त्रिकोण

कार्यक्रमलाई सम्बोधन गर्दै भिरकोट नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले पञ्चेबाजाको मादल र सनईले केवल संस्कृति मात्र नभई महिलाको क्षमता र आत्मविश्वासको प्रतिविम्ब प्रस्तुत गरेको भन्दै प्रशंसा गरे । पूर्व मेयर छायाराम खनालले लैङ्गिक हिंसा कुनै पनि अवस्थामा सहन नहुने र यसको प्रतिरोध गर्नैपर्नेमा जोड दिए । उपप्रमुख भगवती रेग्मी अर्यालले पञ्चेबाजाको प्रतिस्पर्धाले संस्कृतिको संरक्षणसँगै महिला सीप विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले परम्परागत बाजा बजाउने समुदायको पहिचान, सीप र आयआर्जनलाई प्रवर्द्धन गर्न यस्ता गतिविधिले ठूलो प्रेरणा दिने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय कलाकारहरूको पनि सहभागिता रहेको थियो ।

सहभागी महिलाहरूले पञ्चेबाजा सिकेको सीपलाई अब आयआर्जनमा प्रयोग गर्ने र हिंसाका विषयमा खुलेर बोल्न सक्ने आत्मविश्वास कार्यक्रमले दिएको अनुभव साझा गरे । कार्यक्रममा ठूलो संख्यामा महिलाहरूको सहभागिता रहेको थियो ।

प्रतीक्षा

Link copied successfully