स्याङ्जाका किशोरीलाई आत्मरक्षा तालिम

तालिममा किशोरीहरूलाई गुड टच र ब्याड टचको पहिचान, साइबर अपराधबाट सुरक्षित रहने उपाय, आत्मरक्षाका चरणबद्ध शारीरिक सीप तथा मानसिक सशक्तीकरणका विषयमा प्रशिक्षण दिइएको थियो ।

मंसिर २२, २०८२

प्रतीक्षा काफ्ले

Self-defense training for teenage girls from Syangja

What you should know

स्याङ्जा — एकीकृत सेवा कार्यालय स्याङ्जाले जिल्लाका किशोरीहरूलाई शारीरिक तथा मानसिक रूपमा सुरक्षित रहन सक्षम बनाउने उद्देश्यले आत्मरक्षा तालिम सञ्चालन गरेको छ । किशोरीहरू एक्लै हिँडडुल गर्दा, मेलापात तथा घाँस–दाउरा गर्ने क्रममा हुन सक्ने सम्भावित लैङ्गिक हिंसाबाट जोगिन तथा आवश्यक पर्दा प्रतिकारसहित आत्मरक्षा गर्न सकून् भन्ने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित उक्त तालिम दुई दिनसम्म सञ्चालन गरिएको थियो । तालिममा किशोरीहरूलाई गुड टच र ब्याड टचको पहिचान, साइबर अपराधबाट सुरक्षित रहने उपाय, आत्मरक्षाका चरणबद्ध शारीरिक सीप तथा मानसिक सशक्तीकरणका विषयमा प्रशिक्षण दिइएको थियो । साथै बालिका तथा किशोरीमा नेतृत्व विकाससम्बन्धी अभ्यासहरू पनि समेटिएका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आत्मरक्षा तालिमको महत्त्व औँल्याउँदै नेपाली समाजका केही पुरातन सोच र परम्पराले महिला तथा किशोरीलाई साँघुरो घेराभित्र सीमित गरेको बताइन् । उनले यस्ता तालिमले त्यस्ता घेराहरू तोड्न मद्दत पुयाउने विश्वास व्यक्त गरिन् ।

चापाकोट नगरपालिका शिक्षा शाखा प्रमुख इन्दु भेटवालले यस प्रकारका कार्यक्रमले लैङ्गिक हिंसा र विभेदका घटना न्यूनीकरण गर्नुका साथै किशोरीहरूको सक्षमता अभिवृद्धि हुने बताइन् । उनले किशोरीहरूले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्नो अन्तरनिहित क्षमताको विकास गर्नुपर्नेमा जोड दिइन् ।

Self-defense training for teenage girls from Syangjaएकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले आत्मरक्षा तालिमले किशोरीहरूलाई सुरक्षित रहने उपाय मात्र सिकाउने नभई जीवनका हरेक चुनौती सामना गर्ने साहस र आत्मबल प्रदान गर्ने उल्लेख गरे । प्रहरी नायब उपरीक्षक दीपक मल्लले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतनासँगै कानुनी उपचारको बाटो अपनाउनुपर्ने बताए।

तालिममा कराँते प्रशिक्षक तास्बिन पुनको टोलीले आत्मरक्षासम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गरेको थियो। प्रशिक्षक आयुष्मा काफ्लेले गुड टच र ब्याड टच विषयमा प्रशिक्षण दिएकी थिइन् भने बिना रेग्मीले बालिका तथा किशोरीमा नेतृत्व विकास तथा उत्प्रेरणासम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा सहभागी किशोरीहरूले अब समाजमा हुने लैङ्गिक विभेदविरुद्ध ढुक्कसँग बोल्न र आवश्यक पर्दा प्रतिकार गर्न आफूहरू सक्षम भएको प्रतिक्रिया दिए ।

'आत्मविश्वासयुक्त बालिका र किशोरी : लैङ्गिक हिंसा र विभेदको अन्त्य, समता र समानतासहितको न्यायपूर्ण समुन्नत समाजको निर्माण' भन्ने मूल नाराका साथ चापाकोट नगरपालिका र एकीकृत सेवा कार्यालय स्याङ्जाको समन्वयमा चापाकोटस्थित सिटी हलमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा चापाकोट नगरपालिकाका विभिन्न विद्यालय तथा जिल्ला बाल सञ्जालका गरी ६० जना बालिका तथा किशोरीहरूको सहभागिता रहेको थियो ।

प्रतीक्षा

Link copied successfully