गोरखामा ३ मतदानस्थल र ७७ सय मतदाता थपिए

तीन वटा थपिएसँगै जिल्लामा मतदानस्थलको संख्या २ सय २५ पुगेको छ ।

मंसिर २०, २०८२

हरिराम उप्रेती

गोरखा — जिल्लामा तीन वटा मतदानस्थल थप भएका छन् । चुमनुव्री–६ खार सामुदायिक खोप केन्द्र खार, पालुङटार नगरपालिका–६ को जनज्योती आधारभूत विद्यालय कालामाटा र सहिद लखन–३ स्थित जनज्योती आधारभूत विद्यालयमा नयाँ मतदानस्थल थप गरिएकाे हो ।

तीन वटा थपिएसँगै जिल्लामा मतदानस्थलको संख्या २ सय २५ पुगेको छ । निर्वाचन आयोगको मंसिर १४ गतेको निर्णय अनुसार तीन वटा मतदानस्थल थप भएका हुन् ।

खार सामुदायिक खोप केन्द्रमा चुम्लिङ आधारभूत विद्यालयका १ सय १९, जनज्योती आधारभूत विद्यालयमा विरभद्र आधारभूत विद्यालयका ७ सय १७ र जनज्योती आधारभूत विद्यालयमा गंगाधर्म माध्यमिक विद्यालय दारसिङका ६ सय ६३ मतदाता सरेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।  

त्यस्तै गोरखामा ७ हजार ७ सय ३७ जना नयाँ मतदाता थपिएका छन् । असोज ९ देखि मंसिर ५ सम्म जिल्ला निर्वाचन कार्यालय पुगेर १५ सय २ जनाले नामावली दर्ता गराएका हुन् । ९ सय ८ पुरुष र ५ सय ९४ महिलाले नामावली दर्ता गराएको कार्यालयले जनाएको छ ।

बाहृय जिल्लाका पनि ४८ जनाले नाम दर्ता गराएका कार्यालयका सूचना अधिकारी सुवेदीले बताए । त्यस्तै राष्ट्रिय परिचयपत्रको प्रयोग गरी अनलाइन विधिबाट ६ हजार २ सय ३५ जनाले आवेदन दिएका छन् । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully