गाउँपालिकाले योजना सम्झौता गरिदिए पनि गाउँपालिकामै रहेको नेपाल बैंक लिमिटेडको शाखा कार्यालय बन्द हुँदा नार्पा भूमिका स्थानीय समस्यामा छन् ।
What you should know
मनाङ — हिमाली जिल्ला मनाङको नार्पा भूमि गाउँपालिका-३ की नाङ्गा छिमी घलेले गाउँपालिकाले विनियोजन गरेको ६ लाख रुपैयाँ बजेटबाट लोसोमेनमा गोठ निर्माणका लागि योजना सम्झौता गरिन् ।
योजना सम्झौता गरे पनि उनले खाता खोल्न भने पाएनन् । उनीमात्रै होइन, नार्पा भूमि-२ का पाल्साङ छिरिङ लामाले पनि योजनाको खाता खोल्न पाएनन् । गाउँपालिकाले योजना सम्झौता गरिदिए पनि गाउँपालिकामै रहेको नेपाल बैंक लिमिटेडको शाखा कार्यालय बन्द हुँदा उनले बैंक खाता खोल्न नपाएको बताए ।
‘अस्ति भर्खर त थियो झैं लागेको थियो । थाहै नपाई बैंक बन्द गरेर कर्मचारी हिँडेछन्,’ उनले भने । स्थानीय मिङ्मार सोनाम लामाका अनुसार योजना सम्झौता गरेपछिमात्रै होइन, बैंक बन्द हुँदा बैंकबाट नगद झिक्न र बैंकमा नगद जम्मा गर्न नपाएको बताए । ‘दसैंतिहारसम्म त बैंक थियो झैं लागेको थियो । अहिले त नरहेछ,’ उनले भने, ‘चाहिने बेलामा बैंक हुँदैन । नचाहिने बेला भने खुलेको देख्छु ।’
नार्पा भूमिले चालु आर्थिक वर्षका लागि गाउँपालिकाको १५ वटा योजना र वडा नं. १ देखि ५ सम्मको ४५ वटा गरी कुल ६० वटा योजना बनाएको छ । योजना सम्झौताका काम असोज २१ देखि नै सुरु गरिएको थियो । हालसम्म ३८ वटा योजना सम्झौता भएकोमा बैंक बन्द रहेका कारण उपभोक्ताले योजनाको खाता खोल्न नपाएको प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले बताए । उनका अनुसार योजनाको खाता खोल्न मात्रै नभई गाउँपालिकाका नागरिकले आफू अनुकूल रकम झिक्न र राख्न नपाएको, आवश्यक परेको बेला झिक्ने भन्दै राखेको सामाजिक सुरक्षा भत्ता झिक्न नपाएको, गाउँपालिकाले आम्दानी गरेको नगद राख्न नपाएको बताए ।
नेपाल बैंक लिमिटेड नार्फू शाखा मनाङका शाखा प्रबन्धक सुरज अर्यालले असोज ७ बाटै नार्पा भूमिबाट आफूहरु झरेको बताए । दसैंअगावै झरेको र अब चैत १५ गतेबाटमात्रै नार्पा भूमिमा बैंक सञ्चालनमा आउने उनले बताए । ‘गाउँपालिकाले मंसिर १ गतेबाट १५ गतेसम्म आउन आग्रह गरेको थियो । आउजाउ गर्न धेरै कठिन छ, सबैभन्दा बढी सुरक्षा चुनौति छ,’ उनले भने, ‘त्यहाँ जान सुरक्षा गार्ड नयाँ भर्ना गर्नुपर्छ । एकपटक गए सुरक्षा गार्डहरु तर्सिन्छन् । सुरक्षा निकायसँग समन्वय गर्नुपर्छ । कर्मचारी पनि यत्रतत्र छरिएका छन् । धेरै चुनौतिका कारण जान सकिएन ।’
उनले पालिकामा बैंकको शाखा बन्द गएर झर्नेबारे गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको अनुमतिको आधारमा झरेको बताए । ‘गाउँपालिका अध्यक्ष, हाकिमसँग अनुमति लिएर झरियो । उहाँहरुले भनेको समय जान सकिएन । अब भुक्तानी असारमै हुने हो । हामी चैत १५ मा बैंक खोलेर योजनाका बैंक खाताहरु खोलिदिन्छौं,’ उनले भने । उनले गतवर्ष असोजमै योजना सम्झौता गरेर खाता खोलिएकामा यस वर्ष जेनजी आन्दोलनले असोजमा खाता खोल्न नसकिएको र दसैं अगावै बैंक झरेको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने गाउँपालिका अध्यक्षसँग सल्लाह गर्दै अनुमति मागे पनि बैंक आउन आनाकानी गरेको बताए ।
