नार्पा भूमि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन हुने गरी गाउँपालिकाको १५ वटा योजना र वडा नं. १ देखि ५ सम्मको ४५ वटा गरी कूल ६० वटा योजना अघि सारेको छ ।
What you should know
मनाङ — हिमाली जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकामा योजना सम्झौता कार्य धमाधम हुन थालेको छ । चिसोका कारण नागरिकहरु बेंसी (काठमाडौं, पोखरा, बेंसीसहर) झर्ने भन्दै उनीहरूले सहर झर्नुअघि योजना सम्झौता गरेका हुन् ।
चिसो बढेसँगै छिटो-छिटो योजना सम्झौता गरेर सहर झर्ने तयारी गरिएको नार्पा भूमि गाउँपालिका ३, नारगाउँकी नाङ्गा छिमी घलेले बताइन् । उनका अनुसार उपभोक्ता समितिमा रहेका गाउँलेले सहर जानुअघि योजना सम्झौता गरेको बताइन् ।
नार्पा भूमि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन हुने गरी गाउँपालिकाको १५ वटा योजना र वडा नं. १ देखि ५ सम्मको ४५ वटा गरी कूल ६० वटा योजना अघि सारेको छ । योजनाको धमाधम सम्झौता भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले बताए ।
उनका अनुसार असोज २१ गतेदेखि नार्पा भूमि गाउँपालिकामा योजना सम्झौताको काम सुरु भएको थियो । अब नागरिकहरु चिसोका कारण सबै बेंसी झर्ने भएकाले बेंसी झर्नुअघि योजना सम्झौता गरिएको उनले बताए । उनका अनुसार हालसम्म ३८ वटा योजना सम्झौता भएका छन् । केही सम्झौताको चरणमा रहेका छन् । गाउँपालिका केन्द्र च्याँखुमा सम्झौता गर्न छुटेका योजनाहरु कोतोस्थित सम्पर्क कार्यालयमा पनि गर्न सकिने उनले बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को लागि २७ करोड ८२ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमा चालु तर्फ १० करोड १ लाख २६ हजार रुपैयाँ र पूँजीगत तर्फ १७ करोड ८१ लाख २१ हजार रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार योजनाको सम्झौता अहिले भए पनि चिसोका कारण फागुनसम्म विकास निर्माणका कामहरु गर्न सम्भव छैन । चैतबाट जेठसम्म योजना निर्माण गरी असारमा भुक्तानी लिने गरी गाउँमा विकास निर्माणका काम हुने उनले बताए ।
