दाइँ हालेको देखाउन विदेशी पर्यटकलाई खेतमै लगिने
What you should know
कास्की — पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित शनिबार दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ । स्थानीय टोल विकास संस्थासँगको सहकार्यमा पोखरा महानगरपालिका–१९ पुरुन्चौरको चुरुंगामा शनिबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म महोत्सव हुने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक हरि भुजेलले बताए । असारको रोपाइँ महोत्सवमा सहभागी विदेशी पर्यटकले उत्पादन प्रक्रियाबारे चासो राख्ने गरेकाले दाइँबारे बुझाउन आवश्यक भएको उनले सुनाए ।
‘रोपाइँ महोत्सवमा आउने पर्यटकले धान रोप्नुहुन्छ, रोपेको देख्नुहुन्छ । यो कस्तो फल्छ, कसरी फल्छ भनेर हामीलाई प्रश्न गर्नुहुन्छ,’ उनले भने, ‘यो बुझाउन पनि अहिले हामीले दाईं महोत्सवको आवश्यकता देख्यौं ।’
महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, दँदेरालाई टोपी वितरण र अतिथिलाई स्थानीय उपहार वितरण कार्यक्रम हुने अध्यक्ष भुजेलले जानकारी दिए ।
उत्कृष्ट गोरू पालक प्रतियोगितामा प्रथम हुने पुरुन्चौरका कृषकले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । ‘महोत्सवको दिन कृषकले आ–आफ्नो गोरु ल्याउनुहुन्छ । हाम्रो निर्णायकले ती गोरुको मूल्यांकन गर्नुहुन्छ । एउटा गोरू उत्कृष्ट घोषित गरिनेछ,’ उनले भने ।
अन्य प्रतियोगितामा सहभागी भएर पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ‘गोरुपालकबाहेक अरू सबै प्रतियोगितामा सहभागिता खुल्ला हुन्छ । धान उत्पादक कृषक महानगरको ३३ वडाभित्रको हुनुपर्छ । कति धान उत्पादन गरेको भन्ने खुल्ने गरेर वडा र कृषि महाशाखाबाट सिफारिस ल्याउनुपर्नेछ,’ उनले भने ।
महोत्सवमा पुरुन्चौरका स्थानीय, पोखरेली, स्वदेशी र विदेशी गरेर ८ सयदेखि १ हजार पर्यटक सहभागी हुने आयोजकको अनुमान छ । पोखरा भ्रमणमा रहेका विदेशी पर्यटकलाई दाइँ हालेको देखाउन महोत्सवस्थल लैजाने तयारी छ ।
