धान भित्र्याउन ब्यस्त गोरखाका किसान

दरौंदी, भुसुण्डेलगायतका फाँटमा यतिखेर किसानलाई धान काट्न, बिटा लगाउन र थ्रेसरमार्फत धान झारेर घर पुर्‍याउने चटारो छ ।

मंसिर ९, २०८२

हरिराम उप्रेती

Gorkha farmers busy importing paddy

What you should know

गोरखा — सिरानचोक गाउँपालिका–४ का चेतबहादुर कुमालले ३ रोपनी क्षेत्रफलको धान भित्र्याएर आलु राेप्ने तयारीमा छन् ।

दरौंदी, भुसुण्डेलगायतका फाँटमा यतिखेर किसानलाई धान काट्न, बिटा लगाउन र थ्रेसरमार्फत धान झारेर घर पुर्‍याउने चटारो छ । 

दाइँ गरेर धान भित्र्याउने यहाँका किसान प्रविधि पछ्याउँदै अचेल थ्रेसरको प्रयोग गर्न थालेका छन् ।   ‘८–१० वर्ष भयो दाइँ हाल्ने चलन हटेको, अहिले थ्रेसर मेसिनले केहीबेरमै धान झारिदिँदा सजिलो भएको छ,’ उनले भने । दरौदी फाँटमा रहेका थ्रेसर संचालकहरुलाई यतिखेर कामको चाप छ ।  

झार्न थ्रेसर प्रयोग गरे पनि यहाँका किसानले धान काट्न, बोक्नेलगायतका काममा भने अर्मपर्म गर्दै आएका छन् । दरौंदी, सिर्दी, भुसुण्डे, बिर्दीलगायतका धान खेतमा अर्मपर्म गरेर धान भित्र्याउने चटारो छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका ६० प्रतिशत किसानले धान भित्र्याइसकेका छन् । १० हजार १ सय ४० हेक्टर धान खेती हुने क्षेत्रफल मध्ये यस वर्ष ८५ प्रतिशत क्षेत्रफलमा मात्र धान खेती भएको थियो ।

कात्तिक दोस्रो साताको वर्षादले ३ सय ८० हेक्टर क्षेत्रफलको धान खेती नोक्सान गरेको कृषि ज्ञान केन्द्र गोरखाका सूचना अधिकारी सुमन भट्टराइले बताए । ‘धान खेती भएका मध्ये साढे चार प्रतिशत क्षेत्रफलमा बर्षादले वढी क्षति भएको देखियो,’ उनले भने,‘काटिसकेको धान भिजेर क्षति भएको छ ।’ क्षतिको विवरण केही पालिकाबाट संकलन पनि भएको उनले बताए । 

कात्तिक तेस्रो सातापछिको मौसम पनि राम्रो रहेकाले किसान धान भित्र्याउन ब्यस्त रहेको ज्ञान केन्द्रले जनाएको छ । धान भित्राएपछि किसान आलु लगाउने तयारीमा जुटेका छन् ।

अबको दुई साता आलु लगाउन उपयुक्त समय रहेको पनि उनले बताए । जिल्लाका किसानले सावित्रि, मकवानपुर १, रामधान, महाराजा, हर्बिनाथ १, सुख्खा ३, नेपाली हाइब्रिड जातका धान लगाउने गर्छन् ।  

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully