नार्पाभूमिको क्याङमा वडा कार्यालय र स्वास्थ्य केन्द्र स्थापना

गाउँपालिका स्थापना भएको ८ वर्षपछि नयाँ वडा कार्यालय निर्माण गरिनुका साथै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

मंसिर ८, २०८२

आश गुरुङ

Ward office and health center established in Kyang, Narpabhumi

What you should know

मनाङ — हिमाली जिल्ला मनाङको नार्पा भूमि गाउँपालिका-४, क्याङमा वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ।

गाउँपालिका स्थापना भएको ८ वर्षपछि नयाँ वडा कार्यालय निर्माण गरिनुका साथै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटरमा रहेको क्याङ गाउँ र फू गाउँ साथै हिमलुङ हिमाल बेसक्याम्प जाने तथा आरोहण गर्ने पर्यटकलाई लक्षित गरी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष कुन्जो तेन्जिङ लामाले जानकारी दिए ।

उनका अनुसार क्याङ गाउँबाट फू गाउँस्थित वडा कार्यालयमा सेवा लिन जाँदा करिब १ दिन नै लाग्ने भएकाले क्याङमा वडा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको उनले बताए । गाउँपालिका अध्यक्ष लामाले सोमबार एक कार्यक्रमबीच वडा कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरे।

‘हाम्रो पहिलो प्राथमिकता पूर्वाधार निर्माण हो । त्यसपछिको हाम्रो प्रयास गुणस्तरीय सेवा हो’ उनले भने, ‘नागरिकका कतिपय समस्या नभनीकन थाह हुँदैन । तपाइहरुको समस्या बारम्बार भनिरहनुस् । हामी समाधान गर्ने प्रयास गर्छौं ।’ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालका अनुसार यसअघि फू गाउँमा वडा नं. ४ र ५ को संयुक्त कार्यालय सञ्चालनमा थियो ।

पहिलेको फू गाविसको भवनमा वडा संयुक्त वडा कार्यालय सञ्चालनमा रहेकोमा वडावासीको माग अनुसार नयाँ भवन निर्माण गरी क्याङबाट वडावासीलाई सेवा प्रदान गर्न थालिएको उनले बताए । उनका अनुसार वडा कार्यालय भवनसँगै आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरी अहेबको नेतृत्वमा २ जना स्वास्थ्यकर्मी खटाइएको उनले बताए ।

वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको नयाँ ५/५ कोठाको ४ वटा भवनको निर्माण गरिएको छ । २ वटा भवन वडा र स्वास्थ्य केन्द्र र २ वटा भवन वडा र स्वास्थ्यका कर्मचारीका लागि निर्माण गरिएको छ । यो भवन करिब साढे २ करोड रुपैयाँमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सँगै एउटा गुम्बा पनि निर्माण गरेको छ ।

Ward office and health center established in Kyang, Narpabhumi

क्याङबाट यसअघि सरकारी सेवा प्रदान गर्न नसकिएकोमा पछिल्लो समय नागरिकको माग अनुसार सेवा प्रदान गरिएको गाउँपालिकाका अधिकृत महेश पाख्रिनले बताए । वडा नं. ४ का कार्यवाहक वडाध्यक्ष कर्मा तेन्जिङ लामाले नयाँ घरमा कर्मचारी र जनप्रति दुवैले नयाँ सोचका साथ नागरिकको काम गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सोनाम छेटे घलेले पूर्वाधार व्यवस्थापनसँगै आवश्यक उपकरणलाई जोड दिइन् बताइन् । स्थानीय साङ्गी खण्डो लामाका अनुसार पहिले टाउको दुख्दा फोन गरेर सिटामोल ल्याइदिन भन्नु पर्थ्यो । अब आफ्नै घरआगनमा स्वास्थ्य संस्था भएपछि गाउँलेलाई सुविधा पुगेको बताइन् ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully