गुप्सीपाखा पुग्याे राष्ट्रिय प्रसारणकाे बिजुली

बारपाकदेखि लाप्राकसम्म ११ केभीए लाइन बिस्तार भएसँगै बिहीबार गुप्सीपाखा बस्तीमा बिजुली बलेको हो ।

मंसिर ४, २०८२

हरिराम उप्रेती

National transmission electricity reaches Gupsipakha

What you should know

गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा काम सुरु भएकाे ६ वर्षपछि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ ।

बारपाकदेखि लाप्राकसम्म ११ केभीए लाइन बिस्तार भएसँगै बिहीबार गुप्सीपाखामा बिजुली बलेको हो । 

बिहीबार वडा कार्यालयमा विजुली बालेर सेवाको सुचारु गरिएको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले बताए । अब गुप्सीपाखा बस्तीमा मिटर जडान गर्ने कार्यलाई तिव्रता दिने उनले बताए ।

गुप्सीपाखामा राष्ट्रिय प्रसारण लाइनको बिजुली जोड्नका लागि पहिलो चरणमा ८० जनाले आवेदन दिएका छन् । ‘८० जनाले आवेदन दिनुभएको छ, ६० वटा मिटरबक्स पनि गुप्सीपाखा पुर्‍याइसकेका छौं, अब घरघरमा मिटर जडानको काम सुरु हुन्छ,’ गुरुङले भने । 

लाप्राकमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्‍याउन ६ वर्षदेखि बारपाकबाट तार टाँग्ने काम भइरहेको थियो । बारपाकबाट लाप्राकको पुरानो गाउँसम्मको १६ किलोमिटर दुरीमा विद्युत पोल र तार बिस्तार गर्ने काम भइसकेको उनले बताए । ‘एक वर्षदेखि बस्तीभित्र पनि तार बिस्तार गर्ने काम भएको थियो, सबै काम सकिएपछि विद्युत सुचारु भएको हो,’ उनले भने । 

लाप्राकको गुप्सीपाखामा ६ सय घर भूकम्पपीडितको एकीकृत बस्ती छ । स्थानीयले यसअघि  लघु जलविद्युतबाट उत्पादित बिजुली बाल्दै आएका थिए । २० र २६ किलोवाट क्षमताको दुई वटा लघु जलविद्युतको बिजुली प्रयोग गर्दै आए पनि हिउँदमा पानी कम भएका बेला समस्या हुने गरेकाे थियो ।

केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेसागै कामकाजमा सहज हुने धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले बताए । ६ सय घरधुरीको गुप्सीपाखा बस्तीमा अहिले ७० घरधुरी नियमित रुपमा बस्दै आएको उनले बताए ।

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको गुप्सीपाखा बस्ती २०७७ वैशाख ९ गते  भूकम्पपीडितलाई हस्तान्तरण भएको थियो । अधिकाशंको खेतीयोग्य जमिन पुरानै बस्ती लाप्राक आसपास रहँदा स्थानीयले नयाँ बस्तीमा सर्न ढिलाई गरेका छन् । 

दुई सय घरधुरी भने पुरानो गाउँ लाप्राक र गुप्सीपाखामा आलोपालो बस्दै आएका छन् । भौगोलिक जटिलता र हिमपातका कारण लाइन पुर्याउन ढिलाइ भएको उनले बताए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully