हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।
What you should know
म्याग्दी — दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ ।
गलेश्वर निवासी बमबहादुर पुनले चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाएका हुन् । गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति लिएर पुनले रङरोगन र जलप लगाएका हुन् । कोषका उपाध्यक्षसमेत रहेका पुनले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योतिर्लिंगमा चाँदीको मुकुटले छोपेका थिए ।
जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा रु दुई लाख ३६ हजार खर्च भएको पुनले जानकारी दिए ।
गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ । यसअघि २०७७ सालमा कोषको २७ लाख आन्तरिक आम्दानीबाट र सहयोगदाता रमेश शर्माको पाँच लाख ५५ हजार ५५५ मा मन्दिरको छानोलाई पित्तलले छाइएको थियो । शर्माका बुवा राधाकृष्ण पराजुलीले २०५५ मा रु २० लाख खर्चेर गलेश्वर मन्दिर निर्माण गरेका थिए ।
रङरोगन र सुनौलो जलप लगाएपछि गलेश्वर मन्दिर चम्किलो र आकर्षक देखिएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।
कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा शिवालय मन्दिर छ । हिन्दु धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएर उत्पत्ति भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा यहाँ मेला लाग्ने गर्दछ भने दैनिक नित्य पूजाआज हुन्छ ।
यस वर्ष बेनी नगरपालिकासँगको साझेदारीमा गलेश्वर बजार सौन्दर्यकरण योजना सञ्चालन र गलेश्वर मन्दिर परिसरमा उज्यालोका लागि १८ मिटर अग्लो तीन हजार २०० वाट क्षमताको ‘हाइमाक्स लाइट’ जडान गर्न लागिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले जानकारी दिए ।
