सहिद लखन थापाको सालिकमा लात्ती हान्ने र तोडफोडमा अभिमन्यु पाण्डे संलग्न भएको सार्वजनिक भएका भिडियोमा देख्न सकिन्छ । उनी यसअघि सहकारी ठगीमासमेत मुछिएका थिए ।
कास्की — पोखरामा भदौ २४ गतेको प्रदर्शनका क्रममा भीडलाई उत्तेजित पार्दै व्यक्तिगत सम्पत्तिमा आगजनी गराउन संलग्न रहेको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ स्थायी घर भई पोखराको नयाँबजार बस्ने विक्रम भनिने अभिमन्यु पाण्डेलाई मंगलबार पक्राउ गरेको हो ।
व्यक्तिगत सम्पत्ति तोडफोडमा संलग्न रहे/नरहेको विषयमा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् । उनीमाथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको घर जलाउन भीडलाई उक्साएको आरोप छ ।
प्रहरीमा अनुसन्धानका लागि जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए । उनीमाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान गरिने बस्नेतले बताए । प्रहरीले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्नमाथि यही मुद्दा चलाएको छ ।
पाण्डे पोखराको पृथ्वीचोकमा रहेको सहिद लखन थापाको सालिक भदौ २४ मा भत्काउनेमध्ये एक हुन् । उनी पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखिनुपर्ने अभियानमा आबद्ध थिए । अधिकांश पदाधिकारी र सदस्य राप्रपानिकट संलग्न राष्ट्र गौरव अभियान नामको एउटा समूह साढे दुई वर्षअघि गठन गरिएको थियो । यो समूहले पृथ्वीचोकमा शाहको सालिक राखिनुपर्ने पक्षमा वकालत गर्थ्यो । पाण्डे यो अभियानका सह–सचिव थिए ।
लखन थापाको सालिक हटाउन पटकपटक प्रयास गर्दा पनि सफल नभएपछि पाण्डेसहित राप्रपानिकट आन्दोलनको मौकामा सालिक तोडफोड गरेका थिए । सहिदको सालिक भत्काउँदा उनले काँधमा राष्ट्रिय झन्डा ओडेका थिए । उनीसँगै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्की अध्यक्ष राजेश पोखरेल पनि सालिक तोडफोडमा संलग्न देखिन्छन् ।
प्रहरीले राप्रपा केन्द्रीय सदस्य अर्जुन खनाललाई पनि नियन्त्रणमा लिएको छ । रास्वपा कार्यकर्ता पाण्डे पक्राउ परेपछि छुटाउन प्रहरीलाई दबाब दिन गएका खनाललाई प्रहरीले नियन्त्रणमा लिएर राखेको हो । सोधपुछका लागि खनाललाई नियन्त्रणमा लिइएको एसपी नवीन कार्कीले बताए ।
राप्रपा नेता खनाललाई आजै छोड्ने तयारीमा प्रहरी छ ।
पाण्डे भने प्रहरी हिरासतमै रहने छन् । उनी सहकारी ठगीमा पनि मुछिएका व्यक्ति हुन् । उनी अध्यक्ष रहेको संघर्षशील बचत तथा ऋण सहकारी संस्थाले आर्थिक अपचलन गरेको पाइएपछि २०८१ पुसमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालत माग गरेको धरौटी बुझाउन नसकेपछि उनी ६ महिना कारागार बसेका थिए । पछि जग्गा धरौटी राखेर उनी कारागारमुक्त भएका थिए ।
