पोखरा महानगरका १० लाखमाथिका योजना कार्यान्वयनमा रोक

प्रदर्शनका कारण ५० करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको पाेखरा महानगरपालिका पुनःनिर्माणमा संघ सरकारको नीति पर्खने र तत्काल केही नआए ठूला योजनाको बजेट काटेर आर्थिक जोहो गर्ने तयारी छ ।

कार्तिक २४, २०८२

अनुप पौडेल

Implementation of Pokhara Metropolitan City's projects exceeding Rs. 1 million suspended

What you should know

कास्की — जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले सरकारी कार्यालयमा सबैभन्दा धेरै क्षति भोगेको सहर हो– पोखरा । यहाँका १ सय ७ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

प्रदर्शनकारीको आगजनी र तोडफोडबाट पोखरा महानगरपालिकाको कार्यालय र ३३ मध्ये २६ वडा कार्यालयमा क्षति भयो ।

५० करोड हाराहारी क्षति भएको आन्तरिक मूल्यांकन भइरहँदा पुनःनिर्माणमा आर्थिक जोहो कसरी गर्ने भन्नेमा महानगरपालिका अझै द्विविधा छ । संघ सरकारको पुनःर्निर्माण नीति पर्खने र संघले कुनै कदम नचाले चालु आर्थिक वर्षको बजेटबाटै आर्थिक व्यवस्थापन गर्ने योजना महानगरको छ । यसका लागि महानगरले १० लाख रुपैयाँमाथि बजेट विनियोजन भएका योजना कार्यान्वयन स्थगित गरेको छ ।

महानगरपालिकाको गत कात्तिक २ मा बसेको कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०८२–८३ को रातो किताबमा ठेक्कामा जानुपर्ने १० लाखमाथि बजेट भएका सबै योजना तत्काललाई कार्यान्वयन नगर्ने निर्णय गरेकाे थियाे । उपभोक्ता समितिले काम गर्न मिल्ने १० लाखमूनिका योजना भने कार्यान्वयनमै छन् । 

संघ सरकारले दिने अनुदानको अवस्था, पुनःर्निर्माणमा आर्थिक सहयोगको विषय हेर्नुपर्ने भएकाले तत्काललाई त्यस्ता योजनाको ठेक्का प्रक्रिया रोकिएको मेयर धनराज आचार्यले बताए । ‘टेण्डरमा जाँदा बजेटको सुनिश्चितता गर्नुपर्‍यो । अनुदान पनि काटिन्छ भन्ने छ,’ उनले भने, ‘संघले पुनःनिर्माण केही दिने हो कि होइन लिखित केही आएको छैन । त्यसैले अरु घटाएर पनि पुनःनिर्माण गर्नुपर्‍यो भनेर यो निर्णय गरेका हौं ।’

नगर सभा बसेर रातो किताबमा संशोधन गर्ने वा रकमान्तर गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको उनको भनाइ छ । संघ सरकारको निर्णय कुरेर बस्ने पक्षमा मात्र आफूहरु नरहेको उनले सुनाए । १० लाखमाथि बजेट भएर तत्काललाई स्थगित योजनाबारे पनि यही साताभित्र निर्णय गरिने उनले बताए । ‘सडक अर्को वर्ष बनाउँदा पनि हुन्छ । तर, कार्यालय त बनाउन पर्‍यो नि ! त्यही भएर छलफलको क्रममा रोकेका हौं । सधैं कुरेर पनि भएन । १० लाखमाथिका योजनाबारे पनि यही हप्ताभित्र निर्णय गर्छौं,’ उनले भने । 

प्रदर्शनको क्रममा महानगरको भवन, ३३ मध्ये १४ वटा वडा पूर्ण र १० वटा वडामा आंशिक क्षति पुगेको छ । बाँकी ९ वडा कार्यालय सुरक्षित छन् । क्षति भएका वडा कार्यालयले मर्मत र सरसफाइपछि पुरानै ठाउँबाट सेवा प्रवाह गरिरहेका छन् । महानगरपालिकाबाट प्रवाह हुने सेवा पोखरा सभागृह, दमकल भवन र महाशाखाबाट दिइएको छ । 

तोडफोड र आगजनीबाट महानगर र वडा भवन, सवारी, फर्निचरसहित गरेर करिब ५० करोड रुपैयाँको क्षति भएको मूल्यांकन महानगरपालिकाले गरेको छ । कति योजना कटौती गर्दा क्षतिग्रस्त संरचनामा लगानी गर्न पुग्छ भन्ने एकिन छैन ।

कुलमध्ये ५० प्रतिशत योजना १० लाखमूनिका रहेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले अनुमान गरे । ‘वडामा १० लाखमाथिका कम रहेछन् । महानगरमा छन् । ५० प्रतिशत योजना १० लाखभन्दा तलका छन् भन्ने अनुमान छ,’ उनले थपे, ‘अतिआवश्यक १० लाखमूनिका योजना कार्यान्वयन गरौं । अरु मंसिर, नभए पुसमा नगर सभाबाट निर्णय गर्ने भन्ने छ ।’

अनुप पौडेल

Link copied successfully