कालीगण्डकी करिडोरले बदलिएका बस्ती

यो करिडोरले पूर्वी नवलपरासीको पहाडी क्षेत्र, पाल्पा र तनहुँका ग्रामीण भेगका बासिन्दालाई सहज भएको छ । पहाडी भेगमा उत्पादन हुने अदुवा, अम्रिसो र सुन्तलाले बजार पाएका छन् ।

कार्तिक २२, २०८२

नवीन पौडेल

Settlements transformed by the Kaligandaki Corridor

What you should know

नवलपुर — पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका-६ का ६५ वर्षका ढालबहादुर गुरुङ करिब २० वर्ष अगाडिको घटना सम्झन्छन् । उनी रुखबाट लडेर घाइते हुँदा दुई दिन लगाएर बोकेर उपचारका लागि पोखरा पुर्‍याइएको थियो ।

अहिलेजस्तो सडक र सवारीको सुविधा थिएन । सामान्य उपचारका लागि पनि घण्टौंसम्म डोकोमा बोकेर पाल्पा, पोखरा, चितवन वा सदरमुकाम कावासोती जानुपर्ने बाध्यता थियो । सुत्केरी तथा भीरबाट लडेर अत्यधिक रक्तस्राव हुनेहरू उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । 

‘अन्नपात, नुनतेल लिनका लागि पनि रात नै बस्नुपर्ने गरेर बजार जानुपर्ने हुन्थ्यो, वर्षामा हिँड्न नसक्ने सडक थिए, सुगम जिल्लामा बसेर पनि निकै दुर्गम थियो हाम्रो बस्ती,’ गुरुङले भने, ‘सडक र सुविधा नहुँदा यहाँका धेरै मानिस  आफ्नो घरजग्गा छाडेर बसाइँसराइ गरेर बजारतर्फ गए ।' 

उनका अनुसार बजारमा गएर काम गर्न नसक्ने वृद्धवृद्धा मात्र गाउँमा थिए । अहिले भने यो गाउँको अवस्था बदलिएको छ । 

कालीगण्डकी करिडोरले पूर्वी नवलपरासीको पहाडी भेगका बासिन्दालाई सदरमुकाम कावासोती र जिल्लाको मुख्य बजारमा सहज पहुँच पुगेको छ । करिडोरको सडक निर्माण नहुँदा घण्टौं हिँडेर सदरमुकाम र पूर्व पश्चिम राजमार्गको मुख्य बजार गैंडाकोट, दलदले आउनुपर्ने बाध्यतामा रहेका स्थानीयलाई करिडोर निर्माणले सहज भएको हो । सामान्य किनमेलदेखि, औषधि उपचारका लागि बिरामीलाई बोकेर ल्याउनुपर्ने बाध्यतामा रहेका स्थानीयलाई करिडोर सञ्चालनमा आएपछि निकै सहज भएको छ । सदरमुकाम आएर अर्को दिन फर्कनुपर्ने बाध्यता पनि हटेको छ । 

Settlements transformed by the Kaligandaki Corridor

बुलिङ्टार गाउँपालिका-२ का चिरन गरम्जा मगरले कालीगण्डकी करिडोर निर्माण भएपछि चितवन, पाल्पा, पोखरा तथा सदरमुकाम कावासोती लगायतका स्थानमा आवतजावत गर्न सहज भएको बताए । करिडोर सञ्चालनपछि पर्यटकीय क्षेत्रमा चलहपहल बढेको छ । नयाँ बजार विस्तार भएको छ । साथै उत्पादित कृषि उपजले बजार पाउन थालेका छन् । 

२०६४ सालमा निर्माण सुरु भएको यो सडक निर्माणमा ढिलाइ भए पनि अहिले दुर्गम बस्तीलाई यो सडकले विकासको ढोका खोलिदिएको छ । करिडोरअन्तर्गत गैंडाकोटदेखि पाल्पाको पिपलडाँडासम्म १ सय ३१ दशमलव ७ किलोमिटर सडक हस्तान्तरण भएपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्र, पाल्पा र तनहुँका ग्रामीण भेगका बासिन्दालाई सहज भएको छ । करिडोर निर्माणपछि पहाडी भेगमा उत्पादन हुने अदुवा, अम्रिसो र सुन्तलाले बजार पाएका छन् । जसका कारण कृषि क्षेत्रमा स्थानीयको आकर्षण बढेको छ । 

Settlements transformed by the Kaligandaki Corridor

दुर्गम पहाडी गाउँमा कालोपत्र सडक पुग्दा स्थानीय खुसी छन् । अब यस क्षेत्रको उत्पादनलाई बजार पुर्‍याउन योजना बनाएर काम गरेमा आर्थिक रूपमा सबल हुन सकिने बुलिङ्टार गाउँपालिका-३ का अध्यक्ष विष्णुवीर जर्घा मगरले बताए । पूर्वी नवलपरासीको गैंडाकोटदेखि कालीगण्डकी नदीको खोँचैखोच कोरला नाका पुगिन्छ । यो बीचमा पुराना बस्ती, ऐतिहासिक सम्पदा र प्राकृतिक सम्पदाको खानी छ । तर , सडक पहुँचको अभावमा सबै ओझेलमा परेका थिए । अहिले करिडोर सञ्चालनमा आएपछि यस क्षेत्रका बासीन्दाको आर्थिक एवं सामाजिक विकासमा टेवा पुगेको छ । 

Settlements transformed by the Kaligandaki Corridor

जिल्लाको गैंडाकोटदेखि सुरु भएको करिडोरलाई गण्डकी प्रदेशको भारतसँग जोडिने एक मात्र नाका त्रिवेणीलाई पनि जोड्ने योजना छ । त्रिवेणीबाट मध्यविन्दु नगरपालिकाको चोरमारा, हुप्सेकोट गाउँपालिका हुँदै बौदीकाली  गाउँपालिकाको डेढगाउँमा गएर त्रिवेणी कोरला सडक खण्ड कालीगण्डकी करिडोरमा जोडिनेछ । जसले भारतीय नाकादेखि चीनको नाकासम्म जोड्न सक्छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully