गैँडाकोटको मौलाकाली केबलकार आजबाट मर्मत सुरु

आइएमई समूहका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालको करिब दुई अर्ब रुपैयाँ लगानीमा बनेको यो केबलकार साढे दुई वर्षअघि सञ्चालनमा आएको हो ।

कार्तिक २२, २०८२

नारायण शर्मा

Repairs to Gaindakot's Maulakali Cable Car begin today

What you should know

नवलपरासी — गैँडाकोटमा रहेको मौलाकाली केबलकारको आजदेखि मर्मत–सम्भार सुरु भएको छ । गत भदौ २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा यस केबलकारमा आगजनी गरिएको थियो । त्यसयता लगातार ६० दिनदेखि मौलाकाली केबलकारको सेवा बन्द रहेको छ ।

केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार अस्ट्रियाबाट आएका प्राविधिक इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम सुरु गरेका हुन् । आगजनीका कारण तल्लो स्टेशन र केबल तान्ने तार दुवै क्षतिग्रस्त भएका थिए ।

आइएमई समूहका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालको करिब दुई अर्ब रुपैयाँ लगानीमा बनेको यो केबलकार साढे दुई वर्षअघि सञ्चालनमा आएको हो ।

यहाँको डाँडाकालीमा अवस्थित मौलाकाली मन्दिर दर्शन गर्न सहज होस् भन्ने उद्देश्यले केबलकार निर्माण गरिएको थियो । मर्मत–सम्भारको काम सकेर मंसिर १ गतेदेखि पुनः केबलकार सञ्चालन गरिने कार्यतालिका रहेको स्टेशन म्यानेजर पौडेलले जानकारी दिए । केबलकारमा १२ वटा डब्बा रहेका छन्, जसले एकपटकमा ९६ जना ओहोरदोहोर गर्न सक्छन्।

१२ सय मिटर लम्बाइको यो केबलकारबाट माथिल्लो स्टेशन पुग्न पाँच मिनेट समय लाग्छ । साउनसम्मको साढे दुई वर्ष अवधिमा करिब छ लाख दर्शनार्थीले ओहोरदोहोर गरेका छन् । केबलकारको माथिल्लो स्टेशनमा दर्शनार्थी र पर्यटकका लागि सुविधा सम्पन्न “इला रिसोर्ट मौलाकाली” सञ्चालनमा रहेको छ, जुन चितवन र नवलपरासीको सबैभन्दा आकर्षक रिसोर्ट मानिन्छ । यहाँबाट चारैतिरको मनमोहक दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

केबलकार सेवा पुनः सुचारु भएपछि पर्यटकीय तथा धार्मिक गन्तव्य मौलाकाली मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुनेछ । पर्यटकहरूले रिसोर्टको आतिथ्य र अन्य सेवाहरू प्राप्त गर्न सक्ने स्टेशन म्यानेजर पौडेलले बताए । चन्द्रागिरि हिल्सले पनि सो जानकारी दिएको छ ।

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकारको बटम स्टेशनमा पूर्ण क्षति पुगेपछि केबलकार र रिसोर्ट दुवैको सेवा अवरुद्ध भएको थियो ।

केबलकार निर्माता कम्पनी अस्ट्रियाको ‘डोपलमेयर’ का प्राविधिक ल्याई आवश्यक मर्मत र सुरक्षा परीक्षणको काम सुरु गरिएको हो । यहाँ दैनिक पाँच सयदेखि डेढ हजारसम्म दर्शनार्थी आउने गरेको तथ्यांक छ । केबलकारको माथिल्लो स्टेशनबाट देवघाट, चितवन र नवलपरासीका मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले यहाँ दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully