आँखा शिविरले ल्याएको खुसी : ‘अहिले त बुढीलाई राम्रोसँग देख्छु’

क्व्लासोथारको भुजुङस्थित स्वास्थ्य चौकीमा भएको तीन दिने मोतियाबिन्दू शल्यक्रिया शिविरमा ६ सय ५८ जनाले सेवा लिए। उनीहरूमध्ये मोतियाबिन्दू भएका ७८ जनाको शल्यक्रिया भएको छ।

कार्तिक २१, २०८२

आश गुरुङ

The joy brought by the eye camp: 'Now I can see the old woman clearly'

What you should know

लमजुङ — क्व्होलासोथार गाउँपालिका–२ मालिङका ८४ वर्षीय अगमन परियारले दायाँ आँखा देख्न छोडेको २ वर्ष भइसकेको थियो। घरायसी आर्थिक अवस्थाले उपचारको लागि डेढ घण्टाको बाटो मोटर चढेर बेंसीसहर झरेर काठमाडौं, पोखरा वा चितवन जाने अवस्था थिए।

उनी मात्र होइन, श्रीमती ७७ वर्षीया बुधसरीको अवस्था पनि उस्तै थियो। बायाँ आँखाले विस्तारै देख्न छोडेपछि बुधसरीलाई खाना पकाउन समेत मुस्किल हुँदै गयो।

दम्पतीले उनीहरुकै भनाइमा भुजुङमा आँखा शिविर (मोतियाबिन्दूको शल्यक्रिया शिविर) हुनेबारे जानकारी पाए। डेढ घण्टाको बाटो सित्तैमा जाने सुविधा पनि मिल्यो। दुवैको आँखामा लागेको मोतियाबिन्दूको शल्यक्रिया भयो। रातभर आराम गरेर बिहान आँखाको पट्टी खोलेपछि दुवै जनाले हेराहेर गरे। अगमनले भने, 'पहिले त भेउ नै पाउने थिएन। अहिले त बुढीलाई राम्रोसँग देख्छु।' उनको मुस्कानमा श्रीमती बुधसरीले ‘अँ’ थपिन्। भनिन्, 'मैले पनि बुढालाई राम्रोसँग देखें।'

मोतियाबिन्दूको शल्यक्रियापछि मर्स्याङ्दी गाउँपालिका–१, घनपोखराकी ७३ वर्षीया सुनमति विकलाई पनि खुसी लागेको छ। उनले भनिन्, 'आँखामा बादल लागेजस्तो, केही आएर छोपेजस्तो हुन्थ्यो। आँखामा शल्यक्रियापछि अलि अलि देखेको छु। अब त भात–तिउन गर्न सकिएला नि।'

The joy brought by the eye camp: 'Now I can see the old woman clearly'

क्व्होलासोथार गाउँपालिका–४, भुजुङका ८३ वर्षीय मनबहादुर गुरुङले घरगाउँमै सेवा पाउँदा खुसी लागेको बताए। 'अप्रेसनकै लागि पोखरा–काठमाडौं जानुपर्थ्यो। कति पैसा खर्च हुन्थ्यो, कति समय बर्बाद हुन्थ्यो। अहिले आनन्द भएको छ,' उनले थपे। वडाअध्यक्ष नारायण गुरुङले गाउँमै पहिलोपटक शल्यक्रियासहितको सेवाले सेवाग्राही नागरिकमा खुसी छाएको बताए।

क्व्होलासोथार गाउँपालिका–४, भुजुङस्थित स्वास्थ्य चौकीमा मंगलबारदेखि बिहीबारसम्म सञ्चालित तीन दिने मोतियाबिन्दू शल्यक्रिया शिविरमा ६ सय ५८ जनाले सेवा लिए। मोतियाबिन्दू समस्या भएका ७८ जना विरामीको शल्यक्रिया भयो।

स्वास्थ्य चौकी प्रमुख अरबिन्द कुमार चौधरीका अनुसार शल्यक्रिया गरेका विरामीलाई स्वास्थ्य चौकीमै गास–बासको व्यवस्था गरिएको थियो। बिहीबार शल्यक्रिया गरिएका २० जनाको आँखाबाट शुक्रबार बिहान पट्टी निकालेर शिविर समापन गरिएको थियो।

शिविरमा ३ सय ७५ जनालाई पावरवाला चश्मा वितरण गरिएको व्यवस्थापक संस्था मुटु फाउन्डेशन नेपालका संस्थापक धनबहादुर गुरुङले बताए। उनका अनुसार गाउँपालिकाले आयोजना गरेको मोतियाबिन्दू शल्यक्रिया शिविरमा हिमालय आँखा अस्पताल, पोखरा र आइ–केयर फाउन्डेशनले प्राविधिक सहयोग गरेको थियो।

मुटु फाउन्डेशनसँगै व्यवस्थापनमा मनोज एसोसिएशन–फ्रान्स र रोटरी क्लब अफ हिमालयन गल्फर्सले पनि सहयोग गरेको थियो। शिविरमा हिमालय आँखा अस्पताल, पोखराका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. ईन्द्रमान महर्जन, नेपाल आँखा अस्पताल, काठमाडौंका पूर्व कार्यकारी निर्देशक वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कमलबहादुर खड्का लगायतको टीमले मोतियाबिन्दूको सफल शल्यक्रिया गरेका थिए।

The joy brought by the eye camp: 'Now I can see the old woman clearly'

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा प्रदान गर्न गाउँगाउँमा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गर्दै आएको बताए। 'गाउँका कतिपय नागरिक सहर–बजार गएर उपचार गर्न नसक्ने अवस्थामा छन्। हामीले गाउँमै ल्याएको सेवाले नागरिकलाई सहज बनाएको छ,' उनले भने।

गाउँपालिका जनस्वास्थ्य अधिकृत त्रिलोकचन्द्र गुरुङले गाउँघरका जेष्ठ नागरिक, अपांगता र सुत्केरीको स्वास्थ्यप्रति ख्याल गर्दै मौजुदा स्वास्थ्यकर्मीबाट नियमित चेकजाँच समेत भइरहेको बताए। उनले गाउँपालिकाका ९ वटै वडामा विशेषज्ञ शिविर सञ्चालन गर्ने गरी अघि बढेको जानकारी दिए।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully