मनाङमा भारतीय दुई पर्यटक सम्पर्कविहीन

एक्याप मनाङ प्रमुख ढकबहादुर भुजेलले उनीहरु होटलको सम्पर्कमा नरहेको, तल्लो क्षेत्र पनि नफर्केको र थोराङ्ला पास गरेर मुस्ताङतर्फ गएको रेकर्ड पनि नदेखिएको बताए ।

कार्तिक २०, २०८२

आश गुरुङ

Two Indian tourists missing in Manang

What you should know

लमजुङ — माथिल्लो मनाङ घुम्न आएका दुई जना भारतीय पर्यटक करिब २ सातादेखि हराइरहेका छन् । भारतीय नागरिक ५२ वर्षीय जिग्नेशकुमार लालुभाइ पटेल र उनका छोरी १७ वर्षीया प्रियांशीकुमारी जिग्सकुमार जे पटेल सम्पर्कविहीन भएका हुन् । 

उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङमा कात्तिक ३ गते प्रवेश भएको देखिन्छ । त्यसपछि माथिल्लो मनाङस्थित होटल (ग्याल्चेन एन्ड सिस्टर लज एन्ड रेस्टुरेन्ट)मा बसेर मेलारेपा (४,१०० मि.) जाने भनी एक साताको खाद्यान्न लिएर गएका उनीहरु फर्केका छैनन् ।

एक्याप मनाङ प्रमुख ढकबहादुर भुजेलले उनीहरु होटलको सम्पर्कमा नरहेको, तल्लो क्षेत्र पनि नफर्केको र थोराङ्ला पास गरेर मुस्ताङतर्फ गएको रेकर्ड पनि नदेखिएको बताए । ‘होटल सञ्चालकले भनेअनुसार उनीहरु ७–८ दिनको खाद्यान्न लिएर गएको देखिन्छ । केही सामान होटलमै पनि छोडेका छन्,’ उनले भने, ‘पोहोर पनि आएका थिए रे । यसपटक पनि आए, सम्पर्कमा छैनन् । खोजी भइरहेको छ ।’  

मनाङ ङिस्याङ गाउँपालिका-५, भ्राकाबाट करिब २ घण्टा लाग्ने मेलारेपा गुफातर्फ गएका उनीहरु नफर्केको जानकारीपछि खोजी भइरहेको मनाङ प्रशासनले बताएको छ । उनीहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, एक्याप र स्थानीय जुटेका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए ।

माथिल्लो मनाङमा कात्तिक ११–१२ तिर भीषण हिमपात भएको थियो । ‘गएका वर्षमा पनि उनीहरु घुम्न आउने गरेको र हिमपातको समय उद्धार गर्नुपरेको जानकारी प्राप्त भएको छ । अहिले मेलारेपा क्षेत्र र त्यसमाथिको डाँडाहरुमा खोज्दा पनि फेला परेनन्,’ उनले भने ।

सशस्त्र प्रहरी बल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्डे मनाङका डीएसपी हिराबहादुर जिसीका अनुसार पछिल्लो समय मेलारेपा माथिको डाँडा (४,५०० मि.) सम्म पुगेर खोजी गर्दा पनि उनीहरु भेटिएनन् । त्यसमाथि अत्यधिक हिउँ रहेकाले जान नसकिएको उनले बताए । ‘प्रहरीले मात्रै सम्भव नभएको भनी हामीलाई खबर आयो । सम्भावित ठाउँमा खोजतलास गर्दा पनि भेटिएन,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलका अनुसार भारतको गुजरात घर बताउने बाउछोरी कात्तिक ३ गते बिहानपख मनाङ ङिस्याङ-४, माथिल्लो मनाङस्थित ग्याल्सेन होटलमा बास बसेर ४ गते मेलारेपातर्फ जान्छु भन्दै निस्किएका थिए । उनीहरु सम्पर्कविहीन भएको भनी होटल सञ्चालकले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय हुम्डेमा जानकारी गराएका थिए ।

जानकारीपछि असई अमरबहादुर केसीको नेतृत्वमा गएको टोली हिउँले जान नसक्ने भएपछि छोर्तेन गुम्बासम्म खोजतलास गरी फर्किए । मौसममा केही सुधारपछि १७ गते मेलारेपा गुम्बासम्म पुगेको र माथिको डाँडामा बाक्लो हिमपातका कारण जान नसकी गुम्बा आसपास खोजतसाल गरी फर्किए । १८ गते मौसम बिग्रिएका कारण खोजतलास गर्न जान नसकिएको र १९ गते मौसममा सुधार भएलगत्तै पर्वतीय उद्धार तालिम शिक्षालयबाट ५ जना र इलाका प्रहरी कार्यालय हुम्डेबाट २ जना गरी ७ जनाको प्रहरी टोली मेलारेपा गुम्बामाथिको डाँडासम्म पुगे । 

खोजतलास गर्दा पनि फेला नपरेपछि टोली फर्किएको उनले डीएसपी पौडेलले बताए । उनका अनुसार डाँडाभन्दा माथि बाक्लो हिउँ जमेका कारण प्रहरी जान सकेको छैन ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully