हिमपातका कारण तिलिचो र थोराङ्लातर्फ गएका पर्यटक गन्तव्यमा पुग्न नसकी फर्किन बाध्य भएकामा हाल चहलपहल बढ्न थालेको छ ।
लमजुङ — एक साताअघि (सोमबार, मंगलबार र बुधबार) को भारी हिमपातले अवरुद्ध चक्रीय अन्नपूर्ण पदमार्ग पुनः सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी, मनाङ ङिस्याङ गाउँपालिका, जनप्रतिनिधि, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), होटल व्यवसायीको पहलमा पदमार्ग खुलाइएको छ । खाङसार र मनाङ गाउँदैखि तल्लो क्षेत्र सुरक्षाकर्मी र डोजरको माध्ययमबाट हिउँ फालेर सडक खुलाइएको छ । माथिल्लो क्षेत्रमा भने जनप्रतिनिधि र होटल व्यवसायीले सडककाे हिउँ हटाएका छन् ।
हिमपातका कारण तिलिचो र थोराङ्ला क्षेत्रतर्फ गएका स्वदेशी तथा विदेशी पर्यटक गन्तव्यमा पुग्न नसकी फर्किन बाध्य भएकामा पर्यटकको चहलपहल बढ्न थालेको छ । होटल व्यवसायी संघ, माथिल्लो मनाङका अध्यक्ष कर्म ओङ्गेल घलेका अनुसार मौसममा सुधार आएसँगै पर्यटकहरु देखिन थालेका छन् । ‘केही दिनयता मौसम राम्रो हुँदै गएको छ । पर्यटकहरुको चहलपहल देखिन थालेको छ । थोरै नेपाली र अलि धेरै विदेशी छन्,’ उनले भने ।
एक्याप मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलका अनुसार मौसम खुल्ला हुँदै गएको र हिउँ पर्न छाडेको छ । मौसम खुल्दै गएको र माथिल्लो क्षेत्रको पदमार्ग खुलाउन व्यवसायी आफैं सक्रिय भएको बताए । ‘थोराङ्लातर्फको बाटो सबै खुलिसक्यो । पर्यटक जान थालेका छन् । तिलिचोतिर पनि खुल्दै छ,’ उनले भने । उनका अनुसार मनास्लुबाट पनि पर्यटक आउन थालेका छन् । ‘पर्यटकका लागि पदमार्ग खुल्यो । गाइड लिएर जानेका लागि अवरोध छैन । सतर्क अपनाउन भने आग्रह गरेका छौं,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार माथिल्लो चामेदेखि माथिल्लो मनाङ–थोराङ्ला पास पदमार्ग खुलिसकेको छ । 'माथिल्लो मनाङ–खाङ्सार–तिलिचो पदमार्ग पनि खुलिसक्यो भन्दा पनि हुन्छ, वडाअध्यक्ष, होटल व्यवसायी लागिपरेका छन्,’ उनले भने । उनका अनुसार पर्यटकको गाइड भएकालाई गन्तव्यमा जान दिइएको छ । पदमार्गका केही ठाउँमा हिउँ भएकाले बाटो नचिन्नेका लागि समस्या पर्न सक्ने उनले बताए ।
‘बाटो नचिन्नेलाई समस्या हुन सक्छ कि भन्ने हो । नत्र बाटो खुलिसक्यो । मौसम पनि सफा हुन थाल्यो,’ उनले भने, ‘हिउँ खस्न सक्ने, बाटोहरु केही चिप्लो हुन सक्ने त हुन्छ नै, सावधानी अपनाउनुपर्छ ।’ मौसम सफा हुन थालेपछि र पदमार्ग खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेको उनले बताए ।
