मन्त्रालयको हलमा बैठक बस्ने, साउन्ड सिस्टम भाडामा लिइने
कास्की — परिस्थिति अनुकूल नरहेको भन्दै एक महिनाअघि स्थगित गण्डकी प्रदेशसभाको बैठक कात्तिक २४ गते बस्ने भएको छ ।
सभामुख कृष्णप्रसाद धितालले चालु बर्खे अधिवेशनको २७ औं बैठक उक्त दिन दिउँसो १ बजे पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने गरी मंगलबार मिति र स्थान तोकेका हुन् ।
संसद् सचिवालयमा दुई वटा विधेयक दर्ता भएका छन् । चालु अधिवेशनमा गाँजासम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयकलाई सम्बन्धित समितिमा छलफलका लागि पठाउने तयारी छ । यसबाहेक खानी तथा खनिजसम्बन्धी विधेयक संसद्बाट पारित गरेर चालु अधिवेशन अन्त्य गर्ने योजनामा सभामुख छन् ।
बैठक सञ्चालन गर्न साउन्ड सिस्टम भाडामा लिने तयारी रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी शशीधर सुवेदीले बताए । बैठक चलाउन आवश्यक कुर्सी–टेबल र आसन व्यवस्थापनको तयारी अघिल्लोपटक बैठक बोलाउँदा नै भइसकेको उनले सुनाए । ‘बैठक हलको काम पहिल्यै भइसकेको छ । हामी एकदिन गएर फेरि हेर्छौं । अडियो–भिडियोका लागि आवश्यक उपकरणको व्यवस्था गर्न बाँकी छ । त्यो भाडामा लिन्छौं,’ उनले भने ।
प्रदेशसभाको बैठक भदौ २५ गते दिउँसो १ बजे बोलाइएको थियो । तर, भदौ २४ मा आन्दोलन चर्किएपछि भोलिपल्ट बस्ने भनिएको बैठक अनिश्चितकाललाई स्थगित भयो ।
भदौ २४ मा आगजनीबाट संसद्का संरचना सबै ध्वस्त भए । यसकारण मन्त्रालयको सभाहलमा बस्ने गरी असोज २२ मा बैठक बोलाइयो । संसद्मा रहेका दलले आन्दोलन सेलाइनसकेको र तत्काल बैठक गर्नु ठीक नहुने सुझाव दिएपछि उक्त दिनको बैठक अन्तिम समयमा अनिश्चितकाललाई स्थगित गरिएको थियो ।
