आन्दोलनपछि घरजग्गा कारोबारी, लेखापढी व्यवसायीलगायतको सहयोगमा कार्यालयले अस्थायी संरचनाबाट सेवा थालेको थियो । कार्यालयको प्रतीक्षालयलाई रजिस्ट्रेसन स्थान बनाएर काम भइरहेको मालपोत अधिकृत शोभाखर पोखरेलले बताए ।
कास्की — सेवाग्राहीको चाप अत्यधिक बढेपछि मालपोत कार्यालय कास्कीले तत्काललाई आंशिक कामका लागि मात्र कार्यालयमा आउन अनुरोध गरेको छ ।
कार्यालयले कारोबार रोक्का/राजिनामा पारित गर्ने लिखतको स्रेस्ता कायम गर्ने सेवा मात्र लिन आउन सोमबार सूचनामार्फत अनुरोध गरेको हो । यसबाहेक स्रेस्ता कायम गर्ने प्रयोजनका लागि मात्र कार्यालयमा तत्काल नआउन कार्यालयले सूचनामाफर्त अनुरोध गरेको छ ।
‘सम्पूर्ण शाखाबाट सेवा सुरु गर्न केही समय लाग्ने भएको र यस कार्यालयको अभिलेखमा डाटा सुरक्षित रहेकाले स्रेस्ता कायम गर्ने प्रयोजनका लागि मात्र कार्यालयमा सेवाग्राही पूर्ववत् रूपमा सेवा प्रवाह गर्ने संरचना तयार नभएसम्म नआइदिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
जेन–जी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालयका पाँचवटै भवन ध्वस्त भएका छन् । विगतमा पाँचवटा भवनबाट प्रवाह हुने सेवा हाल एउटा मात्र संरचनाबाट गर्नुपर्दा भीड भएको सूचनामा उल्लेख छ ।
आन्दोलनपछि घरजग्गा कारोबारी, लेखापढी व्यवसायीलगायतको सहयोगमा कार्यालयले अस्थायी संरचनाबाट सेवा थालेको थियो । कार्यालयको प्रतीक्षालयलाई रजिस्ट्रेसन स्थान बनाएर काम भइरहेको मालपोत अधिकृत शोभाखर पोखरेलले बताए । उनका अनुसार रजिस्ट्रेसनका लागि चारवटा ठाउँ आवश्यक पर्नेमा दुई ठाउँबाट मात्र सेवा प्रवाह गरिरहेको छ ।
भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा आगजनी हुँदा कार्यालयका ८० प्रतिशत कागजात र अभिलेख जलेका थिए ।
