हिलोले दाउन्ने खण्डमा सवारीको जाम, खुलाउन प्रहरी खटिए

दुम्कीबासबाट करिब ४ किलोमिटर पश्चिमतर्फको घ्युखोला र ६५ मोड भन्ने स्थानमा गाडी फस्ने समस्या छ ।

कार्तिक १६, २०८२

नारायण शर्मा

Traffic jam on mudslide road, police deployed to clear it

नवलपरासी — चार दिनको वर्षाले दाउन्नेको हिलोमा गाडी फस्दा आउजाउमा समस्या भएको छ । दुम्कीबासबाट करिब ४ किलोमिटर पश्चिमतर्फको घ्युखोला र ६५ मोड भन्ने स्थानमा गाडी फसेको फस्यै गरेका कारण यहाँ दोहोरो यातायात सञ्चालनमा समस्या छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक थमनसिंह रानाले आइतबार पनि दाउन्ने सडक चिप्लो भएका कारण पालैपालो गाडी आउजाउ गर्ने व्यवस्था मिलाउन प्रहरी खटिएको बताए । बिहान ३ बजे दुम्कीबास आइपुगेका गाडी अझै बर्दघाट पुग्न सकेका छैनन् । हिलोमा गाडी फसेका कारण दुम्कीबास र बर्दघाट क्षेत्रमा १५ किलोमिटर लामो जाम छ । 

'गाडी हिडेका छन् तर कछुवा गतिमा छन् । लामा र मालवाहक गाडी हिलोमा उक्लन नसक्दा लामो जाम भएको हो,' रानाले बताए । 

दाउन्नेको ९ किलोमिटर क्षेत्र वारपार गर्न ९ घण्टाभन्दा बढी लागेको दाउन्नेमा फसेका रामबहादुर चौधरीले बताए । 'भैरहवा जान राति ३ बजे यहाँ आइपुगियो । दाउन्नेमै छु, बर्दघाट पुग्न अझै दुई घण्टा लाग्ने जस्तो छ,' उनले भने ।

सामान्य वर्षा हुनासाथ गत ७ वर्षदेखि दाउन्नेको अवस्था सधैं यस्तै हुने गरेको छ । सामान्य वर्षा हुनासाथ हिलोमा गाडी फसेर आउजाउ गर्न समस्या हुन्छ । राजमार्ग फराकिलो बनाउने जिम्मेवारी पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम नगर्दा दैनिक हजारौं यात्रुले कष्ट पाउँदै आएका छन ।

महेन्द्र राजमार्गको १ सय १३ किलोमिटर सडक खण्डमध्ये दाउन्ने पहाडको ९ किलोमिटर सडक खाल्डैखाल्डा र धुलाम्य छ ।

महेन्द्र राजमार्ग अन्तर्गत पूर्व नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाटबीच पर्ने १४ किलोमिटर सडकमध्ये करिब ५ किलोमिटर पक्की भइसकेको छ । यो खण्डमा राजमार्ग ढलान गर्ने भनेर भत्काएर छोडेको ७ वर्षसम्म पनि राजमार्गमा ढलानको काम नभएका करण यात्रुले सधैं हैरानी बेहोर्दै आएका छन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully