तनहुँ अदालतले मंसिर १ देखि पेसी ताेक्ने

आगजनीबाट सम्पूर्ण मिसिल, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य कार्यालय सामग्री पूर्णरूपमा जलेर नष्ट भएपछि अदालतले अत्यावश्यक सेवा मात्रै सञ्चालनमा ल्याएको थियो ।

कार्तिक १६, २०८२

सम्झना रसाइली

Tanahun court to hold trial from November 1

तनहुँ — भदौ २४ मा प्रदर्शनकारीको आगजनीबाट ध्वस्त बनेको तनहुँ जिल्ला अदालतले मंसिर १ देखि मात्रै पेसी ताेक्ने भएको छ ।

अदालतले आगजनीको तीन दिनपछि भदौ २९ बाट आंशिक सेवा सुचारु गरेको थियो । आगजनीबाट सम्पूर्ण मिसिल, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य कार्यालय सामग्री पूर्णरूपमा जलेर नष्ट भएपछि अदालतले अत्यावश्यक सेवा मात्रै सञ्चालनमा ल्याएको थियो ।

अदालतले हस्तलिखित सूचना जारी गर्दै मिलापत्र, नाता कायम, अभियोग, पक्राउ पुर्जी अनुमति तथा म्याद थपसम्बन्धी मुद्दा, बन्दीप्रत्यक्षीकरण र विवाह दर्तालगायतका कार्य संचालनमा ल्याएको थियो । ‘हाल आंशिक सेवा दिइरहेका छौं । बस्ने कुर्सी छैन, टेबल छैन, कम्प्युटर र प्रिन्टर छैन, यस्तो अवस्थामा सहज सेवा प्रवाह सम्भव भएको छैन,’ अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले भने ।

Tanahun court to hold trial from November 1

विभिन्न संघसंस्था तथा व्यक्तिले उपलब्ध गराएको कम्प्यूटर, प्रिन्टर, टेबुल, कुर्चीलगायतका सामग्रीको जोहो गरी अदालतले सेवा प्रवाह बढाउँदै आएको छ । ‘आगलागीका कारण अदालतका सबै मिसिल र अभिलेख जलेर खरानी भएका छन्’, स्रेस्तेदार आचार्यले भने, ‘एक हजार २६ बढी चालु मुद्दा र १ हजार ६११ थान अभिलेख पूर्णरूपमा नष्ट भएका छन् । अदालतको हार्डडिस्क चोरी भएको छ । तीन इजलास कक्षमध्ये दुई वटा जलेर प्रयोगयोग्य छैनन् । एउटा इजलासबाट काम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

आगलागीबाट २०६४ मंसिर २९ गतेदेखि २०६९ असार १७ गतेसम्मका फैसला भएका मिसिल जलेर पूर्णरुपमा नष्ट भएको अदालतले जनाएको छ । यस्तै, अदालतमा दर्ता भई फैसला नभएका सबै मुद्दा जलेका छन् । हाल अदालतले चालु अवस्थामा रहेका मुद्दाका मिसिल पुनःसंरचना गर्ने प्रयास गरिरहेको स्रेस्तेदार आचार्यले जनाए । उनले भने, ‘यसका लागि जिल्ला प्रहरी, मुद्दाका पक्षहरू र सरोकारवाला निकायसँग समन्वय गरी कागजात प्रमाणीकरण गरेर मात्र कार्य अघि बढाउने तयारी गरिएको छ ।’ ती मुद्दाका पक्षहरुलाई आफ्नो मुद्दाको प्रतिलिपि ल्याउन सूचना जारी गरिएको उनले बताए ।

Tanahun court to hold trial from November 1

उनका अनुसार हालसम्म करिब ७० प्रतिशत कागजात संकलनको काम भइसकेको छ । सर्वोच्च अदालतले जारी गरेको नयाँ निर्देशिकाअनुसार केही समय थप्नुपर्ने हुनसक्ने र मंसिर १ गतेबाट पेसी सञ्चालन गर्ने अदालतले तयारी गरेको छ । यस्तै, आगलागीपछि भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त बन्दा सेवा प्रवाहमा सहजता आउन नसकेको अदालतले जनाएको छ ।  

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully