करिब सयको संख्यामा पर्यटकको गाडी उपल्लो भेगमा अड्किएपछि प्रशासनले कालीगण्डकी नदी किनारको पुरानो बाटो खुलाउन सकिने/नसकिने पहिचान गरिरहेको छ ।
कास्की — मुस्ताङस्थित प्रसिद्ध तीर्थस्थल कागबेनीदेखि उपल्लो मुस्ताङ जाने सडक निरन्तरको वर्षाले अवरुद्ध भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीदेखि छुसाङ सडकखण्डको १५ किलोमिटर दूरीमा ठाउँठाउँमा पहिरो खसेको छ ।
गत शुक्रबारदेखि सडक यातायात, विद्युत् र फोन सेवा अवरुद्ध रहेकोमा आइतबार बिहानदेखि फोन सेवा सञ्चालन भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णुप्रसाद भुसालले बताए । ‘आज बिहानदेखि फोन चलेको छ । छुसाङसम्म १० जटा जति ठाउँमा लेदोसहितको पहिरो बगेकाले हटाउन जटिल भएको छ,’ उनले इकान्तिपुरसित भने ।
५ वटा ठूला मेसिन प्रयोग गरेर पहिलो पन्छ्याउने काम भइरहेको उनले बताए । अन्य वैकल्पिक बाटो नहुँदा लोमान्थाङ, दामोदरकुण्ड, नेपाल–चीन सीमाको कोरला नाकासम्म पुगेका पर्यटकलाई फर्कन समस्या भएको छ ।
गत बिहीबार उपल्लो मुस्ताङ गएका अधिकांश पर्यटक उतै रोकिएका छन् । कतिपय पर्यटक सवारीमा आउन मिल्ने ठाउँसम्म आएर त्यहाँबाट पैदल कागबेनीतर्फ फर्किरहेको सीडीओ भुसालले बताए । उनकाअनुसार सडक अवरुद्ध हुनुअघिसम्म ५ सय ५९ जना पर्यटक लोमान्थाङ गएका थिए । ‘कतिपय पर्यटक प्रहरी र स्थानीयको सहयोगमा लेदो पार गरेर फर्कनुभएको छ । कतिले बाइक बोकेर तार्नुभएको छ,’ उनले सुनाए, ‘अझै ४ सयको संख्यामा पर्यटक छुसाङ र माथिल्लो भागमा हुनुहुन्छ ।’
लेदोसहितको पहिरो पन्छ्याउन कम्तीमा दुई दिन समय लाग्ने उनको भनाइ छ । करिब सयको संख्यामा पर्यटकको गाडी उपल्लो भेगमा अड्किएपछि प्रशासनले कालीगण्डकी नदी किनारको पुरानो बाटो खुलाउन सकिने/नसकिने पहिचान गरिरहेको छ । ‘अहिलेको बाटो बन्नुभन्दा पहिले कालीगण्डकी बगरै–बगरको बाटो चल्थ्यो । त्यो पुरानो मार्ग चलाउन सकिन्छ कि भनेर हामीले हेर्दै छौं,’ उनले सुनाए ।
निरन्तरको वर्षाले जोमसोम–कागबेनी–मुक्तिनाथ सडक पनि दुई दिनसम्म अवरुद्ध भएको थियो । घरपझोङ गाउँपालिका–४ पाण्डव खोलामा लेदोसहितको पहिरो खसेपछि आवागमन ठप्प भएको थियो । प्रहरी, जनप्रतिनिधि र स्थानीयको प्रयासपछि पहिरो खसेको ठाउँमा एकतर्फी खुलेर शनिबारदेखि सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सामाजिक सञ्जालबाट मुस्ताङको अवस्था निरन्तर अपडेट दिइरहेका नमस्ते टुर्सका सञ्चालक सुदीप आचार्यले अब मुक्तिनाथ जान समस्या नरहेको बताए । ३/४ ठाउँमा सडक एकतर्फी खोलिएको उनले सुनाए । ‘पहिरो खसेको ठाउँमा कुनातिरबाट बाटो खोलेर एकतर्फी बनाइएको छ । मुक्तिनाथ जान समस्या छैन,’ उनले भने ।
