कास्की अदालत : जहाँ खाली ठाउँ, त्यही इजलास

कास्की अदालतले भदौ २३ देखि कात्तिक १० सम्म मुद्दाको तारेखमा हाजिर हुनुपर्ने पक्ष र यही अवधिमा मुद्दा दर्ताको हदम्याद समाप्त हुने पक्षले मंसिर १० सम्म तारेख लिनुपर्ने र मुद्दा दर्ता गर्नुपर्ने समयसीमा तोकेको छ ।

कार्तिक १६, २०८२

अनुप पौडेल

Kaski Court: Wherever there is space, there is a bench.

कास्की — भदौ २४ मा आगजनी भएयता कास्की जिल्ला अदालत टेन्ट, टहरा, क्षतिग्रस्त भवनबाटै सञ्चालन भइरहेको छ । जहाँ खाली ठाउँ भेटिन्छ, त्यहीँ इजलास चलेको छ ।

स्रेस्तेदार राजन खनाल बिदामा बसेपछि खाली भएको उनको कोठालाई शुक्रबार दुई नम्बर इजलास बनाइयो । तिहारअघि अदालत परिसरमा टेन्ट टाँगेर भइरहेको फाँटको काम हाल कास्की जिल्ला बार एसोसिएसनको भवनमा सारिएको छ ।

तिहारअघि आंशिक रूपमा चलेको कास्की जिल्ला अदालतका काम कात्तिक ११ देखि पूर्ण सञ्चालनमा छन् । आगजनीबाट क्षतिग्रस्त भवन, अदालत परिसरमा रहेको न्यायाधीशको आवासमा पनि इजलास चलेको छ । आगजनीले अदालतको मुख्य भवन भग्नावशेष बनेकाले प्रयोग गरिएको छैन । छेउको अर्को भवनमा पनि पहेँलो स्टिकर टाँसिएको छ । यो भवनको माथिल्लो तलामा दुई वटा इजलास चल्छन् । 

कास्की जिल्ला अदालतमा ८ वटा इजलास छन् । यसमध्ये आन्दोलनअघि एक जना न्यायाधीश सरुवा भएकाले ७ वटा चलेका थिए । तिहार बिदा सकिएपछि एक, दुईदेखि पाँच वटासम्म इजलास बसेको छ । शुक्रबार ५ वटा इजलासमा १६ वटा मुद्दाका पेसी चढेका थिए । भौतिक र उपकरणको अभावबीच सबै काम सुरू भइसकेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी रामबहादुर किसानले बताए ।

Kaski Court: Wherever there is space, there is a bench.

नयाँ ठाउँमा जान सर्वोच्च अदालतबाट कुनै निर्देशन नआएकाले आगजनीबाट बचेका संरचना प्रयोग गरेर काम भइरहेको उनले बताए । कम्प्युटर, प्रिन्टरसहित अत्यावश्यक स्रोतसाधनको पनि समस्या भएको उनले सुनाए । ‘भौतिक संरचना, मिसिल, उपकरण जलेर नष्ट भएको अवस्था छ । ५५–६० वटा कम्प्युटर थियो । सबै जलेको छ । हामी त्यसलाई पूर्ति गर्ने क्रममै छौं,’ उनले भने । 

भदौ २९ देखि कास्की अदालतले म्याद थप, कल विवरण अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, पक्राउ पुर्जी अनुमति, बन्दी–प्रत्यक्षीकरणको निवेदन, अभियोपत्र साथ उपस्थित गराइएका प्रतिवादीको बयान एवं थुनछेक, विवाह दर्ता, अधिकृत वारेसनामा प्रमाणीत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिमका निवेदन, कैदीपुर्जी संशोधनको सेवा सुरू गरेको थियो । अदालत परिसरमै टेन्ट टाँगेर र बचेका कोठा सफाइ गरेर यी काम भएका थिए । 

असोज २६ देखि एकदिनमै वा भोलिपल्ट मिलापत्र हुने प्रकृतिका मुद्दा दर्ता लिन थालिएको थियो । दर्ता भएका चालु मुद्दा, फैसला तयार हुन बाँकी रहेका मुद्दाको मिसिल जलेर नष्ट भएकाले मिसिल खडा गर्ने प्रयोजनका लागि अदालतले असोज २६ देखि नै काम थालेको छ । मुद्दामा हाजिर हुन/मिसिल खडा गर्न आउने पक्षले आफू वा कानुन व्यवसायीसँग रहेको फिराद, प्रतिउत्तर, बयान, तारेख पर्चा, आदेशसमेतका लिखत, प्रमाण कागजत लिएर सम्बन्धित फाँटमा हाजिर हुन अदालतले सूचना जारी गरेको छ ।

भदौ २३ देखि कात्तिक १० सम्म मुद्दाको तारेखमा हाजिर हुनुपर्ने पक्ष र यही अवधिमा मुद्दा दर्ताको हदम्याद समाप्त हुने पक्षले मंसिर १० सम्म तारेख लिनुपर्ने र मुद्दा दर्ता गर्नुपर्ने समयसीमा अदालतले तोकेको छ । यो अवधिभित्र काम नसकेमा हदम्याद समाप्त हुने अदालतको सूचनामा उल्लेख छ । 

कास्की अदालतमा ७० हजार मिसिल र अभिलेख रहेकोमा ३० प्रतिशतमा क्षति भएको सूचना अधिकारी किसानले बताए । ०७६ सालपछिका मिसिल र अन्य अभिलेख जलेको कर्मचारीको अनुमान छ । अभिलेख राखिने कोठाको अगाडिपट्टिका दराज जलेका थिए । भदौ २५ मा अदालतका कर्मचारीले आगो बलिरहँदा भित्र पसेर मिसिल जोगाउने प्रयास गरेका थिए । जसले गर्दा अदालतमा रहेका ७० प्रतिशत पुराना फाइल सुरक्षित छन् । ‘सबै जल्यो कि भनेर प्रारम्भमा हामी अभिलेख कक्षमा पस्न पनि डराएका थियौं । भोलिपल्ट हामी कर्मचारी आएर निभाउन सक्ने परिस्थिति बन्यो,’ उनले सुनाए, ‘७० हजार जति रहेकोमा ७० प्रतिशत मिसिल, अभिलेख बच्यो कि भन्ने अनुमान छ ।’ 

Kaski Court: Wherever there is space, there is a bench.

उनकाअनुसार आगजनीबाट बचेका मिसिल कति छन् भन्ने गणना गरिएको छैन । यसका लागि तामेलदारलाई प्रयोग गरेर पुराना मिसिल सडाउने (पछिसम्म आवश्यक नपर्ने कागज पहिचान गरेर फाल्ने)काम भइरहेको उनले बताए । ‘कास्कीमा अरु कामको चाप धेरै हुने भएकाले हामीले पुराना फाइल सडाउन सकेका थिएनौं । कर्मचारी बसेर काम गर्ने ठाउँ नभएकाले तामेलदारलाई त्यहाँ सदुपयोग गरेर मिसिल सडाउने कामलाई प्राथमिकतामा राखेका छौं,’ उनले सुनाए । 

बजेट प्राप्त हुने स्रोत नरहेकाले तत्कालै नयाँ भवन बनाउन सक्ने अवस्थामा जिल्ला अदालत छैन । पोखराको पुरानो विमानस्थल तत्काललाई अदालतको रूपमा प्रयोग गर्न सकिने धारणा अदालतमा भेटिएका कानुन व्यवसायीबाट सुनिन्छ । तत्काललाई क्षति भएकै भवनबाट काम चलाउने र सर्वोच्चबाट प्राप्त हुने निर्देशनको पर्खाइमा जिल्ला अदालत छ ।

अनुप

Link copied successfully