खेतमै ढल्यो जेठो बूढो

लगातारको झरीले काट्ने बेला हुनै लागेको धान खेतमै ढल्यो । झरीले धान भिज्दा उत्पादन र गुणस्तर दुवै घट्ने किसानको चिन्ता छ । 

कार्तिक १६, २०८२

दीपक परियार

An elderly man collapsed in the field.

पोखरा — पोहोर १२ रोपनीमा पोखरेली जेठो बूढो धान लगाएका पोखरा–३२ मालमूलका रामराज वाग्लेले ६० मुरी भित्र्याए । यस वर्ष जेठो बूढो र ठूलो मन्सुली आधा–आधा लगाए । सिँचाइ राम्रै भएकाले ७५ मुरी धान भित्र्याउने उनको अनुमान थियो । तर लगातारको झरीले काट्ने बेला हुनै लागेको धान खेतमै ढल्यो । झरीले धान भिज्दा उत्पादन र गुणस्तर दुवै घट्ने उनको चिन्ता छ । 

मालमूल फाँटमा १ हजार ६ सय रोपनीमा ठूलो मन्सुली, पहेँले, अनदी र जेठो बूढो जातका धान लगाइएको छ । तीमध्ये पहेँले र अनदी काटेर कसैले खेतमै छोडेका थिए भने कसैले कुनिउँ बनाएर । तर ठूलो मन्सुली र जेठो बूढो भने कात्तिक अन्तिम साता मात्रै पाक्ने भएकाले काटिएको थिएन ।

बेमौसमी झरीले काटेर खेतमा राखिएको निहिन भिजाएको छ । कुनिउँभित्र पनि पानी पसेर धान भिजेको वडा कृषि सञ्जालका संयोजकसमेत रहेका रेग्मीले बताए । ‘पानी आउनुअघि काटेर खेतमा राखेको धान त्यत्तिकै छ,’ उनले भने, ‘काट्न बाँकी धान पनि ढलेका छन् ।’ धान भिजेपछि चामल हकुवा हुने र त्यस्तो पराल गाईबस्तुले पनि नरुचाउने उनले बताए । 

जेठो बूढो धेरै उत्पादन हुने फेवाताल पारिको पामे फाँट, बिरौटा, सिसुवा, हेमजालगायत फाँटमा झरीले असर गरेको छ । हेमजा फाँटमा हावाहुरीसहित आएको पानीले काट्ने बेलाको धान ढलाएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । ‘हाइब्रिड धान धेरैजसो काटिसकिएको छ, जेठो बूढो अझै काट्ने बेला भएको थिएन,’ उनले भने, ‘काट्न ठिक्क परेका पहेँले, मन्सुलीलाई पानीले असर गरेको छ ।’

केही कृषकले भने काटेको धानलाई बिटा लगाएर प्लास्टिकको त्रिपालले छोपेर धान जोगाएको उनले सुनाए । ‘अन्य धान पाकिसकेका थिए, जेठो बूढो बल्ल छिप्पिने बेला हुँदै थियो,’ उनले भने, ‘यो बेला पानी पर्दा उत्पादनमा पनि प्रभाव पार्ने देखियो ।’ पोखरामा हालसम्म ३० प्रतिशत मात्रै धान काटेर भित्र्याएको उनको आकलन छ । 

पोखरामा ११ हजार २ सय हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये ४० प्रतिशतमा जेठो बूढो लगाइन्छ । पोखराको पहिचान बनाएको बासनादार जेठो बूढो खेतीमा महानगरले अनुदानसमेत दिने गरेको छ । गत वर्ष पोखरामा ३८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष बढ्ने अनुमान गरिए पनि झरीले उत्पादनमा असर गर्ने देखिएको छ ।

धान थन्क्याउने बेला लामो समय पानी पर्ने र घाममा सुकाउन नपाउने अवस्थामा गुणस्तर घट्ने र मूल्यमा पनि ह्रास आउँछ । पानी पर्ने संकेत पाएपछि महानगरले पोखरा कृषि मोबाइल एप, सामाजिक सञ्जालमार्फत कृषकलाई धान जोगाउन सूचना प्रवाह गरे पनि सबै किसानमा प्रभावी हुन सकेन । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully