ढुंगा माटोसहितको लेदो पस्दा गोरखाको पाङसिङका ५ घरमा क्षति

वर्षाका कारण गोरखाको पाङसिङमा ढुङ्गा माटोसहितको लेदो पस्दा ५ घरमा क्षति पुगेको छ।

कार्तिक १५, २०८२

हरिराम उप्रेती

Five houses in Pangsing, Gorkha damaged as mud and rocks enter

गाेरखा — वर्षाका कारण घरमा ढुङ्गा माटोसहितको लेदो पस्दा गोरखाको चुमनुव्री-३ पाङसिङका ५ घरमा क्षति पुगेको छ। चुमनुब्री-३ पाङसिङका देवेन्द्र गुरुङको कुखुराको फर्म र ५० वटा कुखुरा बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

त्यस्तै, पाङसिङका सर्किनी गुरुङको १ तले काठले बारेको टिनले छाएको  कच्ची घरमा पानी, ढुङ्गा माटोसहितको लेदो पसेको प्रहरीले जनाएको छ । पाङसिङका जुक बहादुर गुरुङको ढुङ्गा, काठ र टिनले छाएको एक तले घरमा पानी र ढुङ्गा माटोसहितको  लेदो पसेको छ भने १३ वटा कुखुरा पनि बगाएको छ।

धन्डुक गुरुङको १ तले कच्ची घरमा ढुङ्गा माटोसहितको लेदोले ८ वटा कुखुरा र ६ वटा हाँस बगाएको छ। कमला गुरुङको १ तले पक्की घरको जग आंशिक चर्केको प्रहरीले जनाएको छ । घरमा लेदो छिरेर क्षति पुगेपछि स्थानीय छिमेकीको घरमा बसेका छन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully