हुप्सेकोट गाउँपालिका–१ बेलुवाको प्रहरी चौकीमा आगजनी गर्ने सातजनालाई प्रहरीले पक्राउ गरी चार दिनको म्याद थप गरेको छ भने आपराधिक मुद्दा दायर गरिएको छ।
नवलपरासी — गत भदौ २४ गते हुप्सेकोट प्रहरी चौकी जलाउने सात जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
हुप्सेकोट गाउँपालिका–१ बेलुवामा रहेको प्रहरी चौकी गत भदौ २४ गते साँझ एक समूहले आगजनी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन खड्काका अनुसार त्यस समयमा चौकी जलाउन सक्रिय रहेका सात जनालाई पक्राउ गरी बिहीबार अदालतबाट चार दिनको म्याद थपिएको छ । उनीहरूलाई आपराधिक प्रवेश र आपराधिक उपद्रव ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ ।
त्यसैगरी, गैँडाकोट नगरपालिका कार्यालयमा पनि आगजनी भएको थियो । यहाँका देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिकाका मेयर, उपमेयर र हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको निजी निवासमा आगजनी गर्नेहरु विरुद्ध भने हालसम्म प्रहरीमा उजुरी नपरेको प्रहरीले जनाएको छ ।
