शुक्रबार बिहान ६ बजेसम्म घान्द्रुक, लान्द्रुक, उल्लेरी, सिक्लेस र ताङतिङ जान रोक
कास्की — निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रातको समयमा पाँच वटा पर्यटकीय गाउँ जान रोक लगाएको छ ।
प्रशासनले सूचना निकालेर बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म घान्द्रुक, लान्द्रुक, उल्लेरी, सिक्लेस र ताङतिङ जाने सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
प्रशासनले राजमार्ग र ग्रामीण सडकमा चल्ने सवारी संयमतापूर्वक चलाउन र क्षमताभन्दा बढी यात्रु नचढाउन चालक–सहचालकलाई सचेत गराउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।
मौसम सफा नभएसम्म पदयात्रामा ननिस्कन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ ।
साउथ अन्नपूर्ण आधार शिविर, कोरी, मर्दी, खुमैलगायत ठाउँमा पदयात्रामा नजान प्रशासनले आग्रह गरेको हो । साथै अत्यन्त जरुरी काम नपरी घरदेखि टाढा नजान र रातको समयमा यात्रा नगर्न प्रशासनले सचेत गराएको छ ।
