हिमपात रोकिएसँगै मनाङको मौसम खुल्न थाल्यो, फर्कन थाले पर्यटक

तिलिचो ताल (४,९१९ मि.) घुम्न गएका र थोराङ्ला (५,४१६ मि.) पास गर्न गएका पर्यटक भने बुधबार बिहानैदेखि फर्किन थालेका छन् ।

कार्तिक १२, २०८२

आश गुरुङ

As the snowfall stops, the weather in Manang begins to improve, tourists begin to return.

What you should know

लमजुङ — मनाङमा हिमपात रोकिएसँगै मौसम खुल्न थालेको छ । तिलिचो ताल (४,९१९ मि.) घुम्न गएका र थोराङ्ला (५,४१६ मि.) पास गर्न गएका पर्यटक भने बुधबार बिहानैदेखि फर्किन थालेका छन् । तिलिचो बेसक्याम्पबाट सोमबार साँझ फर्किएकाहरू भने केही खाङ्सारमै बसेका छन् ।

लमजुङको क्व्होलासोथार गाउँपालिका ६, पसगाउँका होमबहादुर गुरुङले सोमबार खाङसार आइपुग्नेबित्तिकै हिमपात भएको र त्यसपछि रोकिएको बताए ।

‘मसँगै केही त यहीँ (खाङसार) छौं, हामी होमस्टेमा बसेका छौं । बाटो खुलेपछि गाडीको पर्खाइमा छौं । केही भने विहानैदेखि पैदल झरेका छन्’ उनले भने । उनले खाङसारदेखि तल्लो क्षेत्र र माथि तिलिचोतर्फ मौसम विस्तारै खुल्दै गरेको देखिएको बताए । खाङसार तिलिचोतर्फको सवैभन्दा माथिल्लो गाउँ हो ।

As the snowfall stops, the weather in Manang begins to improve, tourists begin to return.होटल व्यवस्थापन समिति माथिल्लो मनाङका अध्यक्ष कर्म ओङ्गेल घलेका अनुसार तिलिचो क्षेत्रबाट झरेका झण्डै २ सय जनालाई कोठा, डाइनिङलगायत ठाउँमा मंगलबार राति व्यवस्थापन गरिएको थियो । उनका अनुसार केही व्यवस्थापन गर्न गाह्रो भएर भ्राका गएर बसेका थिए । पर्यटकहरू बुधबार बिहानैदेखि चामेतर्फ गएको उनले बताए । ‘मौसम अलि खुला भएको छ, बादल–बादल लागिरहेको छ, घाम–घाम पनि छ,’ उनले भने, ‘केही आफ्नो मोटरसाइकलमा हिँडे । केही यहीँबाट जिपमा हिँडे, केही तलबाट जिप बोलाएर हिँडे, हिँडिरहेका छन् । केही भने यहीँ छन् ।’ उनका अनुसार थोराङ्ला पास गर्न गएका केही विदेशी पनि फर्किएका छन् । उनले हालसम्म माथिल्लो मनाङ गाउँबाट डेढसय जति फर्किएको बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका रेन्जर प्रकाश अधिकारीका अनुसार अहिले हिमपात रोकिएको छ । पर्यटकहरू भने थोराङ्ला बेसक्याम्पबाट फर्किएका छन् ।

‘समय भएकाहरू मौसम कुरेर बसेका छन् । समय कम हुनेहरू थोराङ्ला पास नगरी झरेका छन्’ उनले भने । उनका अनुसार बिहीबारदेखि ‘वेदर फरकास्ट’ ले फेरि हिउँ देखाएको छ । माथि नै रोकिनु भन्दा तल्लो क्षेत्रमा गएपछि थप सुरक्षित र व्यवस्थित हुने भन्दै तल्लो क्षेत्र गएको उनले बताए । विदेशी पर्यटकलाई थोराङ्ला र तिलिचोतर्फ जान रोक लगाएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलले पर्यटकहरू तल्लो क्षेत्र फर्किरहेको र सुरक्षा समितिले सहजीकरण गरिरहेको बताए । ‘खाङ्सारमा करिब ४ सय थिए । हामीले सहजीकरण गरिरहेका छौं’ उनले भने, ‘कोही बिरामी छैनन्, अशक्त पनि छैनन् भन्ने बुझिएको छ ।’ हिँड्नेहरू बिहानैदेखि हिँडेको र नहिँडेकाहरु मोटर चल्न मिल्ने गरी बाटो खुलेपछि हिँड्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार खाङ्सारसम्मको सडक दिउँसो १ बजेसम्म खुल्ने गरी लागेको बताए । उनले होटल व्यवसायीसँगको समन्वयमा तिलिचो क्षेत्रबाट फर्किकालाई खाङ्सार, मनाङ, टंकी मनाङ, भ्राका, हुम्डे, पिसाङ, ढिकुरपोखरीलगायत क्षेत्रमा व्यवस्थापन गरिएको र पैदल हिँड्नेहरू बिहानैदेखि फर्किन थालेको बताए ।

उनका अनुसार २५ जनालाई खाङ्सारको गुम्बामा व्यवस्थापन गरिएको थियो । उनका अनुसार प्रशासन, प्रहरी, सेना, स्थानीय तहको गरी ६ वटा सवारी साधन उद्दार गर्नुपर्ने अवस्थाका लागि माथिल्लो मनाङतर्फ लगिएको बताए । उनका अनुसार माथिल्लो मनाङ र हुम्डेबाट गरी १५ वटाभन्दा बढी जिप पर्यटक लिएर बेंसीसहरतर्फ गएको बताए ।

उनले बेंसीसहरबाट २ वटा मिनीबस चामेसम्मको लागि र माथिल्लो क्षेत्रका लागि १० वटा जिप बिहानै हिँडिसकेको बताए । उनका अनुसार सडक खुलाउन खाङसारदेखि मनाङ गाउँतर्फको लागि एउटा डोजर, हुम्डेदेखि मनाङ गाउँतर्फका लागि एउटा डोजर र हुम्डेमा एउटा जोडेर परिचालन गरिएको बताए । ‘मनाङ गाउँसम्म चामेदेखि बाटो खुल्ला भएको छ । अब खाङ्सारसम्म हो । खाङ्सारसम्म बाटो खुलेपछि सबै पर्यटक तल्लो क्षेत्र झर्छन्,’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully