तनहुँमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु ,१३ जना घाइते

चितवनबाट लमजुङ जाँदै गरेको इभी माइक्रोबस सडक छेउको भित्तामा ठोक्किएर दुर्घटना हुँदा एक महिलाको मृत्यु र १३ जना घाइते भएका छन्, घाइतेको अस्पतालमा उपचार जारी छ ।

कार्तिक ११, २०८२

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आज दिउँसो करिब १२:२० बजेको समयमा चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा प्र०३–००१ ज ०९३७ नम्बरको इभी माइक्रोबसले नियन्त्रण गुमाएर सडक छेउको भित्तामा ठोक्किँदा र त्यहाँ रोकी राखिएको नेपाल विद्युत प्राधिकरणको बा १ ञ १२८७ नम्बरको सवारीसँग ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी भरतपुर–१६ की ५५ वर्षीया बुधमाया तामाङको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर माइक्रोबसमा सवार लमजुङ बेंसीसहर–८ का ४२ वर्षीय चालक इश्वरकुमार श्रेष्ठ, चितवन भरतपुर–१६ की ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, होम कुमारी तामाङ, गंगाबहादुर तामाङ, डोलराज तामाङ, गंगा तामाङ, मैती मया तामाङ, इन्द्रकुमारी तामाङ, गममाया तामाङ, मंगली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ गरी १३ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully