हल्का भिरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भएर अटो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
नवलपरासी — गैंडाकोटको मौलाकालिका मन्दिरबाट गैंडाकोट बजारतर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा चार महिला घाइते भएका छन् ।
जिल्ला प्रहरीका सूचना अधिकारी मधु नेपालका अनुसार मौलाकालिका मन्दिरबाट बजारतर्फ शनिबार दिउँसो फर्किँदै गरेको अटो भित्री सडकमा १० मिटर तल खसेको हो । नेपालका अनुसार बजारतिर आउँदै गरेको ना २ ह २१५५ नम्बरको अटो खस्दा मध्यबिन्दु नगरपालिका–७ बस्ने सरस्वती पौडेल, कविता पौडेल, गंगा कँडेल, गैंडाकोटकी कमला ढकाल ( अटो चालक) घाइते भएका हुन् ।
हल्का भिरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको सूचना अधिकारी नेपालले जानकारी दिएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल दुर्घटनामा तीन जना घाइते, एकको अबस्था गम्भिर
मध्यबिन्दुमै मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा नम्बर १२ ज्वाईथरस्थित भित्री सडक खण्डमा अरुणखोलाबाट भूपू र्फ जाँदै गरेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार दुर्घटनामा मध्यविन्दु वडा नम्बर १२ का मोटरसाइकल चालक १८ वर्षीय आर्यन सेन ठकुरी, पछाडि बस्ने त्यहिका शिव आले र २१ वर्षीय रोशन गुरुङ घाइते भएका हुन् ।
घाइतेमध्ये मोटरसाइकल चालक ठकुरीको अवस्था गम्भीर रहेको छ । ठकुरीको मध्यबिन्दु प्रादेशीक अस्पताल डण्डामा उपचार हुन नसकेपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको नेपालले जानकारी दिए । अन्य दुई घाइते खतरामुक्त छन् । उक्त दुर्घटना शनिबार राति भएको हो ।
