फूलमा आत्मनिर्भर पोखरा

पोखरा महानगरले किसान बजारमार्फत सयपत्री र मखमली फूल बिक्रीका लागि २५ स्थान छानेर किसानको उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने व्यवस्था गरेको छ।

कार्तिक ३, २०८२

दीपक परियार

Self-reliant Pokhara in flowers

पोखरा — पोखरा अब फूलमा आत्मनिर्भर बन्दै छ। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले फूलको खरिद–बिक्री व्यवस्थापन स्थानीय स्तरमै मिलाएको छ।

महानगरले किसान बजारमार्फत फूल बिक्रीको व्यवस्था गर्दै २५ ठाउँ तोकेको छ, जसबाट किसानले आफ्नै उत्पादन सिधै उपभोक्तासम्म पुर्‍याउन सक्ने भएका छन्।

यस वर्ष पोखराका किसानहरूले करिब ३ लाख माला पुग्ने सयपत्री र मखमली फूल उत्पादन गरेका छन्। हाल ४० जना व्यावसायिक किसान फूल खेतीमा संलग्न छन्। फूल खेतीमा प्रोत्साहित गर्न थप ३ सय किसानलाई अनुदान प्रदान गरिएको छ। पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार बिउ, मल र मल्चिङ प्लास्टिकका लागि गरी ७ लाख ५० हजार रुपैयाँ बराबरको अनुदान वितरण गरिएको छ।

पोखरामा यस वर्ष ३ सय रोपनी जग्गामा सयपत्री फूल खेती गरिएको छ, जसमा १ सय ५० रोपनीमा महानगरको प्रत्यक्ष अनुदान छ। फूल खेतीका लागि वडा नम्बर १३, १४, २६ र ३३ प्रमुख उत्पादन क्षेत्रका रूपमा चिनिएका छन्।

फूलको कारोबार यस वर्ष ३ देखि ४ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको छ। महानगरले तोकेको मूल्यअनुसार थुँगाको मूल्य २ देखि ५, मालाको १०० देखि १५० र प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म निर्धारण गरिएको छ।

महानगरपालिकाले यस वर्ष प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध लगाएको छ। किसानको फूल बिक्री नभएमा महानगरले प्रति किलो ८० रुपैयाँ दरले फूल खरिद गर्ने व्यवस्था पनि गरेको छ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully