पोखराबाट फरार कैदीबन्दी पाल्पाबाट पक्राउ

कास्की कारागारमा कैद भुक्तान गरिरहेका कुमाल आन्दोलनको क्रममा भागेर फरार भएका थिए ।

कार्तिक ३, २०८२

माधव अर्याल

Prisoner who escaped from Pokhara arrested in Palpa

पाल्पा — पोखराबाट फरार भएका एक कैदीबन्दी पाल्पाबाट पक्राउ परेका छन् । जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी माथागढी गाउँपालिका–३, कसेनी सराईबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा कास्कीको पोखरा कारागारबाट भागेका कसेनी सराईका ४३ वर्षीय केशव कुमाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । कास्की कारागारमा कैद भुक्तान गरिरहेका कुमाल आन्दोलनको क्रममा भागेर फरार भएका थिए ।

प्रहरीको निरन्तर निगरानी तथा गोप्य सूचनाका आधारमा अस्थाई प्रहरी पोष्ट माडीफाँटबाट खटिएको प्रहरीको टोलीले आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले यसअघि जबरजस्ती करणी मुद्दामा नवलपरासी कारागारमा कैद भुक्तान गरिरहेका पाल्पा बगनासकाली–६, का विकास थापामगर भन्ने कुलबहादुर बराललाई पक्राउ गरेको थियो । 

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा २५ गते कारागारबाट भागेको प्रहरीले जनाएको छ । निज बराललाई रूपन्देही जिल्ला अदालतले गत २०८० असार २८ गते जजक मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष २ महिना कैद सजाय र ६ लाख नगद जरिवाना गर्ने फैसला सुनाएको प्रहरीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully