तीन वर्षे म्याद सकिँदा ‘सिग्नेचर’ पुल आधामात्रै

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौलीको मादी र पोखराको सेती नदीमाथि ‘सिग्नेचर’ पुल ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि म्याद सकिँदासम्म दुवै पुलको निर्माण कार्य आधामात्रै भएको छ । 

आश्विन ३०, २०८२

सम्झना रसाइली

'Signature' bridge only half complete after three-year deadline

What you should know

तनहुँ — तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौलीको मादी र पोखराको सेती नदीमाथि ‘सिग्नेचर’ पुल निर्माण कार्य अगाडि बढाइएको थियो । सम्झौता गरिएको ३ वर्षे समय सीमा सकिँदा यी दुवै पुलको निर्माण कार्य आधामात्रै भएको छ । 

पोखरा–मुग्लिन सडक विस्तार योजनाअन्तर्गत कास्कीको सेती नदीमाथिको पुलको ठेक्का गत भदौमा सक्किएको हो । ३ वर्षे ठेक्का अवधि सकिए पनि पुल निर्माणको काम पुरा हुन नसकेको पोखरा–मुग्लिन सडक योजनाका पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरले बताए ।

उनका अनुसार निर्माणाधीन उक्त पुलको भौतिक प्रगति हालसम्म करिब ५० प्रतिशत र आर्थिक प्रगति करिब ४९ प्रतिशत रहेको छ । उनले भने, ‘सम्झौता भएको समयभित्र पुल निर्माण सम्पन्न हुन नसक्दा २०८३ वैशाख १३ गतेसम्मका लागि पहिलो पटक म्याद थप गरी निर्माण कार्य अगाडि बढाइएको छ ।’

विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीले पुल निर्माणका लागि आवश्यक केबललगायतका सामाग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको उनले बताए । ‘भदौ महिनामै पुल निर्माणका लागि आवश्यक पर्ने केबललगायतका सामाग्री चाइनाबाट ल्याउनका लागि कम्पनीले प्रतीत पत्र (एलसी) खोल्ने तयारी गरेको थियो’, योजना प्रमुख कुँवरले भने, ‘जेनजी आन्दोलन लगायतका कारणले गर्दा ढिलाइ भयो । यही हप्ता मात्रै एलसी खोलेका छौँ । अब ४५ दिनपछि सामान आउने पक्का भएको छ ।’

आवश्यक सामाग्री आए पनि हालको गतिमै काम भइरहे थर्पिएको म्यादभित्र पुल निर्माण सम्पन्न गर्न कठिन नै देखिएको उनले बताए । तीन वर्षे सम्झौता भए पनि डिजाइन स्वीकृति र मापदण्डभित्रका संरचना हटाउन, खानेपानीको पाइप र घरघरसम्म पुग्ने बाटोको विवाद समाधान गर्न पनि समय लागेको उनले बताए ।

‘केबल–स्टेड’ प्रविधिमा बन्ने उक्त पुलमा चार जगको काम पूरा भइसकेको र चार टावर निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । आकर्षक डिजाइनमा बन्ने ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि माथिल्लो संरचनाको काम चाँडो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिलेको पुलको तल र माथि गरी दुई आकर्षक ‘सिग्नेचर’ पुल बन्नेछन् । १९० मिटर लामो पुलमा कंक्रिट र फलामको प्रयोग गरिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत भ्याटबाहेक ९४ करोड रुपैयाँमा पुल निर्माण भइरहेको हो ।

'Signature' bridge only half complete after three-year deadline

यस्तै, पूर्वी खण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने गरी मादी नदीमाथि निर्माणाधीन पुल पनि पुरा हुन सकेको छैन । ३ वर्षे ठेक्का सम्झौता सकिए पनि यस पुलको भौतिक प्रगति ७२ प्रतिशत मात्रै रहेको छ ।

पूर्वी खण्डका इन्जिनियार विष्णुप्रसाद पाण्डेका अनुसार गत भदौ २१ गते म्याद सकिएको हो । म्याद सकिएकाले अगामी असार १९ गतेसम्मका लागि म्याद थपका लागि सिफारिस भएको उनले बताए । उनले भने, ‘निर्माण कम्पनीले थपिने म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाएका छ ।’

छ वटा स्पानको उक्त पुल ३१५ मिटर लामो हुनेछ । करिब एक अर्ब २१ करोड रुपैयाँ लागतमा ‘आर्क डिजाइन’मा बन्ने यो पुल पृथ्वी राजमार्गकै सबैभन्दा लामो चार लेनको पुल हुनेछ ।

सडक विस्तार र पुल निर्माणमा भइरहेको ढिलाइका कारण पृथ्वी राजमार्गको स्तरोन्नति कार्यमा अपेक्षित सुधार हुन सकेको छैन । सेती र मादी नदीमाथि ‘सिग्नेचर’ पुल निर्माण सम्पन्न भएपछि सडकको भौतिक संरचना मात्र होइन, पोखरा–तनहुँ क्षेत्रको पर्यटन र यातायात दुवै क्षेत्रमा नयाँ पहिचान थपिने अपेक्षा गरिएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully