नर्सहरूले भने सरकारी पाँचौंसरह अर्थात् ४० हजार आसपास हुनुपर्ने भन्दै आन्दोलन फिर्ता लिइसकेका छैनन् । मणिपालका नर्सले हाल १५ देखि २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँदै आएका छन् ।
What you should know
कास्की — पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालले नर्सलाई मासिक २४ देखि २९ हजार रुपैयाँसम्म पारिश्रमिक दिन तयार भएको छ ।
नर्स आन्दोलनको घटनाक्रम, समस्या समाधानका लागि भएको पहल र प्रस्तावित नयाँ तलब-दर अस्पतालले मंगलबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । योग्यता र अनुभवका आधारमा चार फरक–फरक तलब दर कायम गरिने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले कम्तीमा एक वर्ष अनुभव भएका स्नातक पूरा गरेका नर्सलाई मासिक २९ हजार ५ सय ८७, कम्तीमा एक वर्ष अनुभव भएका पीसीएल स्टाफ नर्सलाई २८ हजार ५ सय ८७, एक वर्ष अनुभव र सीएमए/एएनएम गरेकालाई २६ हजार ५ सय ८७ र नयाँ नर्सिङ स्टाफलाई २४ हजार २ सय ८७ रुपैयाँ निर्धारण गरेको छ ।
अस्पतालले आन्दोलनरत नर्सलाई नयाँ तलबबारे जानकारी गराइसकेको छ । नर्सहरूले भने सरकारी पाँचौंसरह अर्थात् ४० हजार आसपास हुनुपर्ने भन्दै आन्दोलन फिर्ता लिइसकेका छैनन् । मणिपालका नर्सले हाल १५ देखि २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँदै आएका छन् ।
हरेक नेपाली महिनाको ७ गतेभित्र तलब भुक्तानी गरिएको र १७ हजारभन्दा मुनि कसैले काम गर्नु नपरेको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नर्सलाई रातिमा सवारी सुविधा पहिल्यै दिइराखेको र तालमेलको समस्या देखिएकाले त्यसलाई समाधान गरिने अस्पताल प्रशासनको भनाइ छ । श्रम शोषण गरिएको र न्यून पारिश्रमिकमा काम गराइएको भन्ने विषय तथ्यहीन र भ्रामक भएको अस्पतालको जिकिर छ ।
आन्दोलनले स्वास्थ्य प्रणालीमा नकारात्मक असर पार्न सक्ने भन्दै अस्पतालले शान्तिपूर्ण, जिम्मेवार र संवादमुखी माध्यमबाट समस्याको समाधान खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।
मणिपालमा ३ सय ६६ जना नर्स कार्यरत छन् । नर्स आन्दोलित बनेपछि भर्ना भएका बिरामीलाई अस्पतालले कति बिरामीलाई गत शुक्रबार घर पठाएको छ भने कतिलाई रिफर गरेको छ । अस्पतालको ओपीडी सेवा भने रोकिएको छैन ।
यो अस्पताल व्यवसायी आनन्दराज बतास र नारायण पौडेल समूहको हो ।
