मणिपालका नर्स आन्दोलित, नयाँ खोज्दै अस्पताल

माग पूरा नभएपछि साढे ३ सय नर्स गत शुक्रबारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन् ।

आश्विन २६, २०८२

अनुप पौडेल

Manipal nurses protest, looking for new hospital

What you should know

कास्की — पारिश्रमिकप्रति असहमति जनाउँदै पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालका नर्स पछिल्लो ३ दिनदेखि निरन्तर आन्दोलित छन् । 

माग पूरा नभएपछि साढे ३ सय नर्स गत शुक्रबारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन् । असोज १२ मा सुरू आन्दोलन अस्पताल प्रशासनले वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेपछि पहिलो दिनमै स्थगित भएको थियो । 

कार्यभारभन्दा पारिश्रमिक अत्यन्त न्यून भएको नर्सहरुको प्रमुख गुनासो छ । आन्तरिक बैठकमा पारिश्रमिकको विषय पटकपटक उठाउँदा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको नर्स पूजा फगामीले बताइन् । ‘आन्तरिक हिसाबले समाधान गरौं भनेर यो समस्याको समाधान गर्न खोजेका थियौं,’ उनले भनिन्, ‘सरकारी पाँचौं तहसरह पारिश्रमिक हुनुपर्छ भनेर जुन माग राखेका थियौं त्योसरह पूर्ति गर्न सक्नुभएन । त्यसपछि हामी यसरी आवाज उठाउन बाध्य भएका छौं ।’

उनले अस्पतालमा कार्यरत नर्सको पारिश्रमिक १५ देखि २० हजार रुपैयाँसम्म रहेको सुनाइन् । ‘आधारभूत आवश्यकता धान्न नपुगेको अवस्था भएकाले बोल्न बाध्य भएका छौं,’ उनले भनिन् । नर्सहरुको माग पूरा भएमा तलब ३५ हजार रुपैयाँ आसपास हुन्छ । 

नर्सहरु अस्पताल प्रांगणमा प्लेकार्ड र नाराबाजीसहित दिनभर आन्दोलन गर्दै आएका छन् । उनीहरुले अस्पताल सञ्चालक र प्रशासनविरुद्ध भने कुनै आक्षेप र नाराबाजी गर्दैनन् । कामको सम्मान गर्दै पारिश्रमिक वृद्धि गर्नुपर्ने उनीहरुको एकमात्र माग छ । ‘नो पे, नो वर्क’, ‘श्रम शोषण बन्द गर्’, ‘हामी जीवन बचाउँछौं, यो आफ्नै बचाउनुपर्ने समय हो’, ‘तहगत पारिश्रमिक लागू गर्’लगायत नारा लेखिएका प्लेकार्ड उनीहरुको साथमा हुन्छ । 

अस्पताल प्रशासन, नेपाल नर्सिङ संघका प्रतिनिधि र आन्दोलनरत नर्सबीच आइतबार वार्ता बसेको थियो । अस्पताल प्रशासनले नर्सहरुले राखेको पारिश्रमिकसम्बन्धी माग पूरा गर्न नसकिने जवाफ दिएको छ । छलफल गरेर हाल दिइएकोभन्दा केही सुविधा थप गर्न अस्पताल तयार छ । दुवै पक्षले आफ्नो कुरा राखेको र सोमबार फेरि वार्ता बस्ने अस्पतालका सूचना अधिकारी शंकरबहादुर जीले बताए । ‘अहिले हामीले जे अफर गरेका छौं त्यो अनुसार गइदिनुस् भनेर आग्रह गरेका छौं । काम सुरु गर्दै गर्ने र उहाँहरुको मागको विषयमा पनि छलफल अगाडि बढाउँदै गर्ने भनेर आज पनि कुरा भयो,’ उनले भने । 

मणिपालमा ३ सय ६६ जना नर्स कार्यरत छन् । नर्सहरु आन्दोलित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालले नयाँ बिरामी भर्ना गरेको छैन । वार्डमा रहेका बिरामीलाई घर र अन्य अस्पताल पठाइएको छ । ओपीडी, आइसीयू र इमर्जेन्सीका सेवा भने नरोकिएको उनले बताए । उनकाअनुसार भर्ना गर्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा मौखिक रिफर गरिएको छ । 

सरकारले ०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । मणिपालसहित देशभरका विभिन्न अस्पतालका नर्स यही निर्णयलाई टेकेर आन्दोलित हुन थालेका छन् । 

नर्स आन्दोलनमा उत्रिएकै समयमा अस्पतालले भने नयाँ नियुक्तिको विज्ञापन आह्वान गरेको छ । अस्पतालले शनिबार आवश्यक संख्या नखुलाई स्टाफ नर्स, एच.ए र ए.एन.एम–सी.एम.ए. माग गरेको हो । अस्पतालले एकातिर नयाँ विज्ञापन खुलाएको छ भने अर्कोतिर अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ र श्रम ऐन, २०७४ अनुसार कारबाही गरिने चेतावनी नर्सहरुलाई इमेलमार्फत दिएको छ । 

सूचना अधिकारी जी.ले नयाँ विज्ञापन नियमित प्रक्रियाअन्तर्गत भएको दाबी गरे । ‘दैनिक ४–५ जना नर्सको राजीनामा आउँछ । यो आन्दोलन नभएको भए पनि हामीले यो विज्ञापन निकाल्नुपर्थ्यो,’ उनले भने ।

अनुप

Link copied successfully