दुलेगौंडाबाट लालिमतर्फ जाँदै गरेको यात्रीवाहक माइक्रो बस दुर्घटना हुँदा १६ महिने बालिकासहित ११ जना घाइते भएका हुन् ।
तनहुँ — दुलेगौंडामा आइतबार दिउँसो माइक्रो दुर्घटना भएकाे छ । दुलेगौंडाबाट लालिमतर्फ जाँदै गरेको यात्रीवाहक माइक्रो बस दुर्घटना हुँदा १६ महिने बालिकासहित ११ जना घाइते भएका छन् ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित हेल्थपोष्टचोकमा ग१ज ८३१७ नम्बरको माइक्रो सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी १६ महिने बालिका रोशनी थापासहित ११ जना घाइते भएकोमा दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा प्राथमिक उपचार गरी ५ जनालाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । बालिकाको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ४५ वर्षकी दलकुमारी रानालाई पनि जीएमसी पोखरा रिफर गरिएको छ । मध्यम घाइते उनको छाती र बायाँ हातमा चोट, लागेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
दायाँ हात र ढाडमा चोट लागेकी गणपतेकी २१ वर्षीया रविना थापा, चिउडो र दायाँ खुट्टामा चोट लागेर मध्यम घाइते शुक्लागण्डकी–८ लालिमका १६ वर्षीय रविन भुजेल, टाउकोमा चोट लागेकी शुक्लागण्डकी–१२ की ४९ वर्षीया देवीसिंह ठकुरीलाई पनि जीएमसी रिफर गरिएको छ ।
उक्त माइक्रो बसले दुुलेगौंडाबाट लामागाउँतर्फ जाँदै गरेको ग१ज ६५५३ नम्बरको जिपलाई समेत ठक्कर दिएको थियो । जिपमा सवार एक जना घाइते भएको प्रहरी जनाएको छ ।
