कक्षा चलिरहँदा १४ जना केटा पनि थिए । सुरुवातमा अप्ठेरो मानेका उनीहरू पछि जीवनउपयोगी शिक्षा सिक्न पाएकोमा खुसी देखिन्थे ।
कास्की — पोखराकी दिप्सना भुजेल ज्ञानकुञ्ज विद्याश्रमको कक्षा ६ मा पढ्छिन् । महिनावारीबारे सुने पनि यो किन हुन्छ, कसरी हुन्छ, यसले शरीरमा पार्ने प्रभावलगायत विषय उनलाई थाहा थिएन । ११ वर्षीया उनले शनिबारदेखि जीवनउपयोगी यी सबै विषय राम्रोसँग बुझेकी छन् ।
स्काउटअन्तर्गतको अन्तर्राष्ट्रिय परियोजना युथ एक्सचेन्ज साउथ टु साउथ (वाईईएसएस) कार्यक्रमले पोखरामा शनिबार महिनावारी स्वच्छचा व्यवस्थापन तालिम आयोजना गरेको थियो । यो तालिमपछि दिप्सनाले महिनावारीको समयमा प्रयोग हुने सामग्री, यो समयमा देखिने शारीरिक समस्याबारे जानेकी छन् । ‘यो त भोलिपर्सि म महिनावारी हुँदा पनि काम लाग्छ,’ उनी खुसी सुनिइन्, ‘प्याड किन्न जाँदा लजाउन हुँदैन, ढुक्कले किन्नुपर्छ भनेर सिकाउनुभयो ।’
तालिममा पोखराका ५ वटा विद्यालयका करिब ४० जना विद्यार्थी सहभागी थिए । महिनावारीबारे सिकाइ चलिरहँदा पोखरा पर्स्याङस्थित नेपाल स्काउटको गण्डकी प्रदेश मुख्यालयको सेमिनार हलमा केटी मात्र थिएनन् । करिब १५ जना केटा पनि कक्षामा थिए । कक्षा सुरु हुँदा अप्ठेरो मानिरहेका सबै सहभागी पछि जीवनउपयोगी शिक्षा सिक्न पाएकोमा खुसी देखिन्थे । जिम्बाब्बेमा तालिम लिएकी उक्त परियोजनाकी आल्मुनी एवं नेपाल स्काउटकी रेन्जर प्रतिक्षा मल्ल ठकुरीले महिनावारीबारे छात्रछात्रालाई सिकाइन् ।
उनले महिनावारी, महिनावारी चक्र, महिनावारीको समयमा प्रयोग हुने उत्पादन, त्यसको उपयोग, महिनावारीको समयमा देखिने लक्षण र समस्या आइपरेमा पुरुषको भूमिकाबारे सिकाएकी हुन् । ‘मैले जिम्बाब्बे बसेर सिकेकामध्ये कुनै एउटा विषय घर फर्किएपछि शिविर गर्नुपर्थ्यो । महिनावारीको समयमा कति महिला प्याड किन्नै लजाउने गरेको देख्छु,’ उनले सुनाइन्, ‘यस्तो समयमा कसरी स्वास्थ्यको ख्याल गर्ने भन्ने कतिलाई थाहै हुँदैन । त्यसैले घर फर्किएपछि मैले महिनावारीसम्बन्धी सचेतना रोजें ।’
उनी कक्षामा केटाकेटी दुवैलाई राख्ने वा केटालाई मात्र राख्ने भन्ने दोधारमा थिइन् । पुरुषले पनि सिक्दा जीवनको कुनै समयमा काम लाग्छ भन्ने हेतुले दुवैलाई एउटै कक्षामा राखेर सिकाइएको उनले बताइन् । ‘केटाले पनि महिनावारीबारे जानकारी राख्नु हुँदैन भन्ने होइन । भोलि परिवारको कोही सदस्य महिनावारी होला, अप्ठेरो पर्ला त्यस्तो समयमा के सामान चाहिन्छ भन्ने त थाहा हुन्छ भनेर केटालाई पनि सहभागी गराइएको हो,’ उनले भनिन् ।
मल्ले महिनावारीको समयमा प्रयोग गर्न सकिने ट्याम्पन्स, सेनेटरी प्याड, पुनः प्रयोग गर्न सकिने प्याड, महिनावारी कप र यसको प्रयोगबारे विद्यार्थीलाई बुझाइन् । १५ वर्षमुनिका विद्यार्थीलाई सिकाउँदा जीवनभर उपयोगी हुने उनको अपेक्षा छ । ‘महिनावारीको समयमा ढाड दुख्ने, पेट दुख्ने, छिटो रिस उठ्नेलगायत लक्षण सामान्य हुन् । यस्तो भए आत्तिन हुँदैन भनेर सानैमा सिकाउन सके मनोबल सधैंभर बलियो हुन्छ,’ उनले सुनाइन्, ‘केटालाई यस्तो कुरा सिकाउँदा भोलि कोही साथी समस्यामा परे सहयोग गर्नुपर्छ भन्ने भावना पनि आउँछ ।’
पोखराकी १३ वर्षीया खुसी सेढाईं महिनावारीको समयमा सेनेटरी प्याड प्रयोग गर्छिन् । सेनेटरी प्याडका अरु विकल्प पनि छन् भन्ने उनलाई थाहा थिएन । महिनावारीको पीडा अनुभव गरेपनि उनले यो किन हुन्छ भन्ने कारण जानेकी थिइनन् । शनिबार उनले अन्य उत्पादनबारे सिकिन्, साथै तालिमले उनको आत्मबल पनि बढाएको छ । ‘मलाई पनि नयाँ प्रोडक्टबारे थाहा भयो । महिनावारी हुँदा दोकानमा प्याड किन्न जाँदा लजाउनु हुदैन । यो सामान्य कुरा रहेछ भन्ने लाग्यो,’ उनले सुनाइन् ।
पोखराकै हिलसाइड बोर्डिङमा पढ्ने १३ वर्षीय ईशान सुवेदीले पनि शनिबार ३ घण्टा महिनावारीसम्बन्धी कक्षा लिए । उनले महिनावारी हुँदा महिलाले अनुभव गर्ने समस्या, समस्याको समयमा पुरुषको भूमिकाबारे आफूले सिक्न पाएको सुनाए । ‘कति अभिभावकलाई छोरी र श्रीमती महिनावारी भए के गर्ने, कसरी ख्याल गर्ने भन्ने थाहै छैन । म आफैंलाई थाहा थिएन,’ उनले भने, ‘मैले महिनावारीको समयमा सेनेटरी प्याड प्रयोग हुन्छ भन्ने सुनेको थिएँ । कहिल्यै किन्नुपरेको, किनेको थिइनँ । केटा मान्छे पनि प्याड किन्न पर्यो भने लजाउनु हुँदैन भनेर सिकें ।’
तिहार बिदापछि पोखराका विद्यालयमै पुगेर महिनावारी सचेतना कक्षा सञ्चालन गर्ने मल्लको तयारी छ । पोखराका एक सय जना छात्र–छात्रलाई महिनावारी सचेतना दिइने उनले सुनाइन् ।
