मनासलु हिमाल आरोहण सुरु

सोमबार र मंगलबार केही आरोहीले शिखर चुमिसकेका छन्। यस सिजनमा चुमनुव्री–१ सामागाउँकी २२ वर्षीया छिरिङ डिकीले पनि मनासलुको सफल आरोहण गरेकी छिन्। उनले मंगलबार बिहान १०:५० बजे मनासलुको शिखर चुमेकी हुन्।

आश्विन ९, २०८२

हरिराम उप्रेती

Manaslu mountain climbing started

गोरखा — मनासलु हिमालको आरोहण सुरु भएको छ। मौसम अनुकूल बनेपछि असोज ६ गतेदेखि आरोहीहरूले आरोहण थालेका थिए। पर्यटन विभागका अनुसार यस सिजनमा मनासलु हिमाल आरोहणका लागि ३७४ जनाले अनुमति लिएका छन्।

अहिले मनासलु आरोहणको भीड लागेको चुमनुव्री–१ सामागाउँकी नाङ्सल छोदेन लामाले बताइन्। ‘सेप्टेम्बर २० बाट हिमाल आरोहण सुरु भएको हो, केही आरोही शिखर चुमेर फर्कँदै छन्, केही आरोही अझै चढ्दै छन्,’ उनले भनिन्। आरोहण अनुमति लिएका आरोहीहरूले सेप्टेम्बर २७ सम्म आरोहण सक्ने लक्ष्य राखेका छन्।

छोदेनका अनुसार सोमबार र मंगलबार केही आरोहीले शिखर चुमिसकेका छन्। यस सिजनमा चुमनुव्री–१ सामागाउँकी २२ वर्षीया छिरिङ डिकीले पनि मनासलुको सफल आरोहण गरेकी छिन्। उनले मंगलबार बिहान १०:५० बजे मनासलुको शिखर चुमेकी हुन्।

Manaslu mountain climbing started

मनासलु हिमाल आरोहणका लागि शरद ऋतु उपयुक्त मानिन्छ। ‘किलर माउन्टेन’का रूपमा परिचित ८,१६३ मिटर उचाइको मनासलु हिमाल पछिल्लो समय आरोहीहरूको रोजाइमा पर्ने गरेको छ। हिमाल आरोहणसँगै पदमार्ग हुँदै मनासलु क्षेत्र घुम्न जाने पर्यटक पनि बढेका छन्। चालु आर्थिक वर्षको साउन महिनामा ७६ र भदौ महिनामा ७७९ जनाले मनासलु क्षेत्रको भ्रमण गरेको मनासलु संरक्षण क्षेत्र (एमक्याप)का प्रमुख सन्तोष शेरचनले बताए।

उनका अनुसार भदौदेखि कात्तिकसम्म मनासलु क्षेत्र भ्रमणको उपयुक्त मौसम मानिन्छ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully