गण्डकी सरकारका २९ भवन तत्काल प्रयोग गर्न अयोग्य

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकीले एक साता लगाएर गरेको अध्ययनले १३ वटा भवनलाई रातो र १६ वटा भवनलाई पहेँलो श्रेणीमा राखेको छ । ४८ वटा भवन–संरचनाको अध्ययन गर्दा १९ वटा हरियो श्रेणीमा परेका छन् ।

आश्विन ९, २०८२

अनुप पौडेल

29 buildings of the Gandaki government are unfit for immediate use

कास्की — भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण गण्डकी सरकार मातहत पोखरामा रहेका २९ वटा भवन–संरचना तत्काल प्रयोग गर्न नमिल्ने देखिएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकीले एक साता लगाएर गरेको अध्ययनले १३ वटा भवनलाई रातो र १६ वटा भवनलाई पहेँलो श्रेणीमा राखेको छ । ४८ वटा भवन–संरचनाको अध्ययन गर्दा १९ वटा हरियो श्रेणीमा परेका छन् ।

रातो श्रेणीका भवन अब प्रयोग गर्न उचित नहुने र पहेँलो श्रेणीमा राखिएका भवन तत्काल प्रयोग गर्न नमिल्ने एसोसिएसनका अध्यक्ष इन्जिनियर सन्तोष जिसीले बताए । उनको अनुसार थप अध्ययन गर्दा पहेँलो श्रेणीमा रहेका कतिपय भवन पुनः प्रयोग गर्न नमिल्ने पनि हुनसक्छ । ‘पहेँलोमा राखेका भवन कुनैको डन्डी बाहिर निस्केको छ, स्ल्याबमा असर गरेको छ । त्यसैले ती भवन थप अध्ययन पछि रातो श्रेणीमै आउन सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘रातो त अब प्रयोग गर्दै नगर्नु भन्ने नै हो ।’

प्रदेश सभास्थित संसदीय दलका कार्यालय र कर्मचारी आवास, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री निवासको हल, योजना आयोगको भवन, योजना आयोगको निवास, यातायात व्यवस्था कार्यालय सवारीको भवन, यातायात व्यवस्था लाइसेन्स कार्यालयको पुरानो ट्रस भवन, प्रदेश प्रमुखको निवास, आर्थिक मामिला मन्त्रालयको भवन, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको ढुंगा–इँटाको भवन, शिक्षा विकास डिभिजन कार्यालय बगर, उद्योग तथा पर्यटन मन्त्रालयको भवन रातो श्रेणीमा परेका छन् ।

प्रदेश सभाको पुस्तकालय, सुरक्षाकर्मीको निवास, प्रदेश सभा बैठक भवन, प्रदेश सभा सचिवालय भवन, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको आवास, यातायात व्यवस्था कार्यालय सवारीको क्यान्टिन, शौचालय र इम्बोस्ड नम्बर प्लेट वितरण गर्ने भवन, लाइसेन्स कार्यालयको शौचालय, वन तथा वातावरण मन्त्रालयको मुख्य भवन, मन्त्री आवास, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको आवास, प्रदेश प्रमुखको कार्यालय, आर्थिक मामिला मन्त्रालय भवन, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको मुख्य प्रशासनिक भवन, उद्योग तथा पर्यटन मन्त्रीको आवास, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको आवास पहेँलो श्रेणीमा राखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको नयाँ भवन, मुख्यमन्त्री निवासको मुख्य भवन र कर्मचारी आवास, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको मुख्य भवन र कर्मचारी आवास, गण्डकी विश्वविद्यालयको प्रशासनिक भवन, सामाजिक विकास कार्यालय कास्की, पूर्वाधार विकास कार्यालय कास्की, पूर्वाधार विकास निर्देशनालय गण्डकी, वन निर्देशनालय, जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालय कास्कीको भवन हरियो श्रेणीमा छन् । ‘हरियो श्रेणीमा परेका भवन सामान्य सरसफाइ र मर्मत गरेर प्रयोग गर्न सकिन्छ,’ अध्यक्ष जिसीले भने ।

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकीले ६ वटा समूह बनाएर प्रदेश सरकार मातहतका निकायको भवनमा आगजनीले गरेको क्षति मूल्यांकन गरेको थियो । अध्ययन गर्दा भवनको जलेको भागको कङ्क्रिट परीक्षण गरिएको उनले बताए । ‘जुन भाग जलेको छ त्यहाँको कङ्क्रिट काटेर निकालेका थियौँ । शरीरको ईसीजी गरेर भित्री भाग हेरेजस्तै पिल्लरको पनि एक्स–रे गर्न मिल्छ,’ उनले भने, ‘यस्तो गर्दा आउने नतिजा हेरेर श्रेणी छुट्याइन्छ ।’ एसोसिएसनले अध्ययन प्रतिवेदन बुधबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा बुझाएको छ ।

भवनको अवस्था अध्ययन गरिए पनि त्यसमा स्टिकर भने टाँसिएको छैन । प्रतिवेदन बुझाइएको र स्टिकर टाँस्ने काम प्रदेश सरकारले नै गर्ने उनले बताए ।

अनुप पौडेल

Link copied successfully