बिहीबारदेखि दाउन्ने खण्डको विश्कर्मा मन्दिर नजिक गाडी फस्ने गरेका छन् । ठाउँठाउँमा पहिरो खस्दा चालक र यात्रु हैरान छन् ।
नवलपरासी — वर्षाका कारण पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा गाडी फस्दा सडक पार गर्न सवारीसाधनलाई कम्तीमा ७ घण्टा लाग्ने गरेको छ ।
बुटवल-नारायणगढ सडकमा यात्रा गर्ने यात्रुले तीन दिनयता यस्तै समस्या भोग्नुपरेको छ । गत बिहीबारदेखि दाउन्ने खण्डको विश्कर्मा मन्दिर नजिक गाडी फस्ने गरेका छन् । ठाउँठाउँमा पहिरो खस्दा चालक र यात्रु हैरान छन् ।
बुटवलतर्फबाट कावासोती-नारायणगढ आउने गाडी घण्टौं आलोपालो वारपार हुँदै आए पनि दुम्कीबासबाट बर्दघाट-बुटवलतर्फ जाने गाडी वारपार हुन ७ घण्टाभन्दा धेरै समय लाग्ने गरेको छ ।
बर्दघाटबाट गएराति १२ बजे हिँडेका कपिलवस्तुका अनुप आचार्यले आफू शनिबार बिहान ९ बजे दुम्कीबास आइपुगेको बताए ।दाउन्नेको ७ किलोमिटर सडक पार गर्न ७ घण्टा भन्दा धेरै समय लागेको हो । दाउन्नेको १४ किलोमिटरमध्ये करिब ७ किलोमिटर एकतर्फी ढलान सडक निर्माण भइसकेको छ ।
नजिकिएको दसैं मनाउन घर हिँडेका हजारौं यात्रुको दाउन्नेमा बिजोग छ । दुम्कीबासका सुनिल खनालका अनुसार शुक्रबार राति १२ बजेदेखि रोकिएका गाडी अझै दुम्कीबासको ज्यामिरे पार गर्न (पश्चिमतर्फ जान) सकेका छैनन् ।
राजमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले दाउन्ने सडक भत्काएर निर्माण नगरेका कारण यहाँ यात्रुको बिजोग भएको हो । बुटवल-नारायणगढ खण्डको यो सडकमा दैनिक १८ हजार गाडी ओहोरादोहोर गर्ने जिल्ला ट्राफिक प्रहरीको तथ्यांक छ ।
