वर्षाका कारण उकालो र हिलोमा फसेका गाडी वारपार हुन नसक्दा ७२ घण्टादेखि राजमार्ग खुल्दै र बन्द हुँदै आएको थियो ।
नवलपरासी — वर्षाका कारण हिलाम्य भएर अवरुद्ध दाउन्ने खण्ड सञ्चालनमा आएको छ । प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दाउन्नेमा शनिबार दिउँसो ३ बजेबाट यातायात सञ्चालनमा आएको हो ।
बिहीबारदेखि दाउन्नेमा रोकिएका गाडी पालैपालो गरेर वारपार गराइएको छ । वर्षाका कारण उकालो र हिलोमा फसेका गाडी वारपार हुन नसक्दा त्यहाँ ७२ घण्टादेखि राजमार्ग खुल्दै र बन्द हुँदै आएको थियो ।
मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो गएका कारण काठमाडौंबाट भैरहवा-बुटवल हिँडेका गाडी त्यहीँ रोकिएका छन् ।
महेन्द्र राजमार्ग निर्माणको ठेक्का लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले राजमार्ग फराकिलो पार्ने भन्दै कालोपत्रे भत्काएर अलपत्र पारेका कारण दाउन्नेमा सामान्य वर्षा हुँदा पनि घण्टौं जाम हुने गरेको छ । दुम्कीबास-बर्दघाटबीचमा पर्ने दाउन्नेको १४ किलोमिटर सडकमध्ये करिब ७ किलोमिटर (एकतर्फी) ढलान भइसकेको छ ।
