कास्कीका २७ प्रहरी यूनिटमा आगजनी र तोडफोडले क्षति, पोसाक चोरिएपछि ड्युटीमा खटिन कठिनाइ

कास्कीमा ९७ जना ट्राफिक प्रहरीको दरबन्दी रहेकोमा भदौ २४ को घटनापछि ४० प्रतिशतमात्र डियुटीमा छन् ।

आश्विन २, २०८२

अनुप पौडेल

27 police units in Kaski were damaged due to arson and vandalism, difficulty in going to duty after clothes were stolen

कास्की — जेन–जी प्रदर्शनकारीले भवन जलाइदिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सेवा यतिबेला ठप्प प्रायः छ । प्रहरी पोसाक नै लुटिएपछि चोक–चोकमा हिजोआज ट्राफिक प्रहरी निकै कम देखिन्छन् ।

कास्कीमा ९७ जना ट्राफिक प्रहरीको दरबन्दी रहेकोमा भदौ २४ को घटनापछि ४० प्रतिशतमात्र डियुटीमा छन् ।

मोटरसाइकल पनि जलेकाले दर्घुटना भएको खबर आएमा घटनास्थल पुग्नै समस्या भोग्नुपरेको कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शोभा पाण्डेयले सुनाइन् । ‘दुर्घटनाको खबर आयो भने रेस्पोन्स गर्नै गाह्रो छ । घटनास्थल जान निजी सवारीसाधन लिएर वा अरु विकल्प खोज्नुपरेको छ,’ उनले भनिन् । कागजात र अभिलेख जलेकाले अन्य सेवा अवरुद्ध रहेको उनले बताइन् । उनकाअनुसार कारबाही भएर कार्यालयमा राखिएका केही मोटरसाइकल पनि चोरी भएको छ ।

पोखराको पृथ्वीचोक, सिर्जनाचोक, जिरो किलोमिटरमा गत वर्षदेखि ट्राफिक लाइट सञ्चालनमा आएका थिए । यसले ट्राफिक प्रहरीलाई सवारी आवतजावत व्यवस्थापनमा सहज भएको थियो । तर, प्रदर्शनकारीले यी ट्राफिक लाइट तोडफोड गरेका छन् । अहिले पोखराका चोक ट्राफिक लाइटको नियन्त्रण बाहिर छन् । लाइट त छैनन् नै, ट्राफिक प्रहरी पनि विरलै देखिन्छन् । करिब ३० जनाको प्रहरी पोसाक चोरी हुँदा सेवामा खटिन नसकेको उनले सुनाइन् । ‘३० जना जतिको ड्रेस, बुट चोरी भएको छ । अहिले ड्रेस हुने डियुटीमा हुनुहुन्छ,’ उनले भनिन्, ‘४० प्रतिशत मात्र सडकमा डियुटीमा खटिएका छौं । बाँकीको ड्रेस तयार पार्दैछौं ।’

आगजनीबाट पोखराको बगरस्थित वडा प्रहरी कार्यालय क्षतविक्षत छ । पोखराको उत्तरी बेल्टका ८ वटा वडा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका कार्यक्षेत्र भएको यो कार्यालय अहिले आफैं असुरक्षित छ । भागेका ९ जना थुनुवा फिर्ता आएका छैनन्, हराएका हतियार पनि भेटिएका छैन । टाउको लुकाउने छत र शरीर बिसाउने खाट पनि ध्वस्त भएका छन् ।

भवन तत्कालै पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा छ । प्रतीक्षालय र पहिला कन्ट्रोल कक्ष रहेको कोठाबाट सेवा प्रवाह थालिएको कार्यालयका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक यानबहादुर कुँवरले सुनाए । सरकारी पोसाक, व्यक्तिगत पोसाक, हतियार, कागजात, सवारी जलेको र चोरी भएको उनले बताए ।

वडा प्रहरी कार्यालय बगरमा ५२ जना प्रहरी कार्यरत छन् । आगजनीमा परेकै खाटमा सुत्नुपर्ने यहाँका प्रहरीको बाध्यता छ । ‘कार्यालयमा फलामका खाट थिए । कपडा यहीँ सहयोग प्राप्त भयो । त्यसैमा सुतेका छौं । हामीले बत्ती, पानी, इन्टरनेट जोडेका छौं,’ उनले सुनाए ।

प्रतीक्षालयमै निवेदन लिने, मिलापत्र गराउने काम भइरहेको उनले बताए । मुद्दासम्बन्धी काम भने सुरु भएको छैन । कार्यालय पुनर्निमार्ण गर्न सामुदायिक सेवा केन्द्र बगरका पूर्वाध्यक्ष पुरुषोत्तम श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको भवनमा पनि आगजनीबाट क्षति पुगेको छ । गस्ती र म्याद थपबाहेक अरु काम हुन सकेको छैन । जिल्लाभित्र आंशिक र पूर्ण गरेर २७ वटा प्रहरी यूनिटमा क्षति पुगेको कार्यालयका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए । कास्कीमा जिल्ला प्रहरी र त्यस मातहतका अस्थायी ट्राफिक पोस्ट, प्रहरी चौकी, इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय गरेर ५६ वटा प्रहरी यूनिट छन् ।

अनुप पौडेल

Link copied successfully