रास्वपाका वडा संयोजक सरकारी कार्यालय र सांसदको घर तोडफोडमा संलग्न

भदौ २४ मा सांसद गुरुङको घर तोडफोडमा सहभागी रहेको भेटिएपछि रास्वपाले संयोजक भोजराज पौडेललाई निलम्बन गरेको छ।

भाद्र ३०, २०८२

अनुप पौडेल

Ward coordinator of RSVP involved in vandalizing government office and MP's house

What you should know

कास्की — पोखरास्थित सरकारी कार्यालय, सांसदको घर तोडफोड र लुटपाटसम्बन्धी घटनामा रास्वपाका वडा संयोजक संलग्न रहेको पाइएको छ ।

रास्वपा मादी गाउँपालिका–६ का संयोजक भोजराज पौडेल जेन–जी आन्दोलनको दिन भदौ २४ मा पोखरा–१३ स्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र पोखरा–११ चिसापानी कर्नरस्थित प्रदेश सभा सदस्य वेदबहादुर गुरुङको घर तोडफोडमा संलग्न रहेको भेटिएको हो । 

कान्तिपुरलाई प्राप्त भदौ २४ गतेका दुई भिडियोमा उनले सिँचाइ कार्यालयको गेटमा लात्ती हानेको तथा सांसद गुरुङको घरमा सात पटकसम्म ढुंगा प्रहार गरेको देखिन्छ । सांसद गुरुङको घरमा भएको लुटपाटमा भने उनी प्रत्यक्ष संलग्न देखिँदैनन् । उनी एक्लै घरका सबै सीसा फुटाउन व्यस्त देखिन्छन् । यसका लागि उनले कम्पाउन्डबाहिरबाट चार पटकसम्म ढुंगा ओसारेका थिए । 

घरबाट ६ तोला सुन, ४७ हजार नगद, संकलित विदेशी मुद्रा, कम्प्युटर, टीभी, जुत्ता–कपडा चोरी भएको सांसद गुरुङले बताए । ‘परिवारका सदस्य बाहिर थियौं । आगो पनि लगाउन खोजेका रहेछन्,’ उनले भने, ‘छिमेकीले रोकेपछि आगो लाग्न पाएन । तोडफोड र चोरीले ठूलो नोक्सान भयो ।’

एमालेबाट निर्वाचित गुरुङ मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । एउटै पालिका भएकाले आफ्नो घर तोडफोड गर्ने पौडेलसँग चिनजान भए पनि कुनै व्यक्तिगत रिसइबी नरहेको सांसद गुरुङले बताए । ‘पहिला एमालेमै थिए । फेसबुकमा मेरो पोस्टमा कमेन्ट पनि गर्थे । मैले उनलाई केही लेख्थिनँ,’ उनले भने, ‘व्यक्तिगत केही छैन । यस्तो गर्लान् भन्ने नै थिएन ।’ 

यो घटनामा संलग्न वडा संयोजक पौडेललाई रास्वपाले सोमबार निलम्बन गरेको छ । उनलाई रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले पार्टीको आचारसंहिताभन्दा बाहिर रहेर अवाञ्छित गतिविधिमा संलग्न देखिएकाले अर्को निर्णय नहुँदासम्म सबै जिम्मेवारीबाट निलम्बन गरेको हो ।

अनुप पौडेल

Link copied successfully