पर्वत– जेनजी आन्दोलनको मौका छोपी पर्वत कारागारमा तोडफोड गरी कैदी बन्दी भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १४ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
बुधबार राति कारागार परिसरमा प्रवेश गरेर कैदी बन्दीलाई हुल हुज्जतसहित भगाएको भन्दै १ महिला सहित १४ जना व्यक्तिलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले कुश्मा नगरपालिकाका १२ जना, विहादी गाउँपालिकाका १ र चितवनका १ जनालाई पक्राउ गरी हिरासतमा राखिएको बताए ।
सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्न जो–कोहीलाई पक्राउ गरिने उनले बताए । आन्दोलनको नाममा अराजकता मच्चाउनेहरूको तस्बिर र भिडियोहरू प्रहरीलाई उपलब्ध गराउनसमेत उनले आग्रह गरेका छन् ।
प्रहरीले नियन्त्रणमा रहेका सबैलाई हिरासतमा राखी कारागार ऐन २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्योग अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीले यी मध्ये केही युवाहरूलाई सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा समेत पक्राउ गरेको छ ।
पर्वत जिल्ला कारागारबाट २४ गते राति १९ जना कैदी बन्दी फरार भएका थिए । पर्वत प्रहरीले पर्वत कारागारबाट फरार रहेका कैदीबन्दी मध्ये ८ जना नियन्त्रणमा लिई पुन: जिल्ला कारागार चलान गरिएको छ ।
जिल्ला कारागार पर्वतबाट फरार रहेकामध्ये बाँकी ११ जना थुनुवा कैदी बन्दीहरू अझैँ प्रहरी सम्पर्कमा आएका छैनन् । अपरिचित र शंकास्पद व्यक्तिहरू गाउँमा देखेमा नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको पैसा नलाग्ने नम्बर १०० मा सम्पर्कका लागि प्रहरीले अनुरोध गरेको छ ।
