सार्वजनिक सेवा प्राप्तिमा धैर्य गर्न कास्की प्रशासन कार्यालयको आग्रह 

भाद्र २८, २०८२

दीपक परियार

पोखरा  — तोडफोड, आगजनी र लुटपाटबाट ठूलो क्षति पुगेको कास्की जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सार्वजनिक सेवा प्राप्तिमा केही समय धैर्य गर्न आग्रह गरेको छ । 

कार्यालयले विद्युत्, इन्टरनेट, उपकरण जडान तथा भौतिक संरचना मर्मतसम्भारका काम क्रमिक रूपमा अगाडि बढाइने बताउँदै सेवा प्रवाह चाँडै सुरू गरिने शनिबार जानकारी दिएको छ।

२४ भदौमा भएको घटनाले कार्यालयको भौतिक संरचना कुरूप हुनुका साथै फर्निचर, कम्प्युटर र नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संस्था दर्ता तथा शान्ति सुरक्षासम्बन्धी सम्पूर्ण अभिलेख नष्ट भएका छन् । यसले कास्कीका सेवाग्राहीलाई ठूलो मर्का पारेको कार्यालयले जनाएको छ । 

यस्तो प्रतिकूल अवस्थामा पनि धैर्य र संयमता नगुमाई २७ भदौदेखि कार्यालयका कर्मचारीहरूले स्वयं सरसफाइ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताइन् । सेवा प्रवाह पुनर्स्थापना गर्न आवश्यक तयारी क्रमिक रूपमा भइरहेको र यसमा सहयोग, समन्वय तथा सहजीकरण गरिदिन सरोकारवालासमेत उनले अनुरोध गरिन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully