तनहुँ — जेनजी आन्दोलनका क्रममा जिल्लामा ७८ सवारीसाधन र ३१ भौतिक संरचनामा क्षति पुगेको छ । आन्दोलनका क्रममा निजी तथा सरकारी सवारीसाधन र भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले सवारीसाधन र भौतिक संरचनातर्फ पूर्ण, आंशिक र सामान्य रूपमा क्षति भएको बताए । उनका अनुसार दुईपांग्रे ३८ सवारीसाधन पूर्ण, १० आंशिक र दुई सामान्य क्षति भएका छन् । चारपांग्रे १७ पूर्ण र ११ आंशिक क्षति भएका छन् । सरकारी सवारीसाधन दुईपांग्रेतर्फ ३४ पूर्ण, तीन आंशिक र एक सामान्य क्षति भएका छन् । निजीतर्फ ४ पूर्ण, ७ आंशिक र १ सामान्य क्षति भएका छन् । सरकारी सवारीसाधन चारपांग्रेतर्फ १७ पूर्ण, ११ आंशिक क्षति भएका छन् ।
भौतिक संरचनामा सरकारी कार्यालयतर्फ ४ पूर्ण, १७ आंशिक र १ सामान्य क्षति भएका छन् भने व्यक्तिगततर्फ ९ वटा आंशिक क्षति पुगेको उनले बताए ।
यही भदौ २४ गतेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको थियो ।
त्यसैगरी कांग्रेस, एमाले, माओवादी केन्द्रको कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।
