सोमबार प्रदर्शनको क्रममा पोखराको रत्नचोक क्षेत्रमा १९ वर्षीय विवश घर्तीमगर र ३२ वर्षीय रेशम शर्मालाई गोली लागेको हो ।
कास्की — सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलनको क्रममा पोखरामा दुई जनालाई प्रहरीको गोली लागेको छ ।सोमबार प्रदर्शनको क्रममा पोखराको रत्नचोक क्षेत्रमा १९ वर्षीय विवश घर्तीमगर र ३२ वर्षीय रेशम शर्मालाई गोली लागेको हो ।
दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचार भइरहेको छ ।
दुवै जनाको शल्यक्रिया गरिएको र एक जना गम्भीर रहेको प्रतिष्ठानका निर्देशक सह प्रा.डा. प्रेमराज पंगेनीले बताए । उनकाअनुसार विवशको कलेजोमा गोलीले छेडेर चोट लागेको छ । ‘उहाँको कलेजोमा असर परेको छ । उहाँलाई आइसियूमा राखिएको छ । दुवैको शल्यक्रिया भइसकेको छ,’ उनले भने ।
अर्का घाइते शर्माको मुत्रथैली र आन्द्रामा गोलीले छेडेको छ । उनी खतरामुक्त छन् । पश्चिमाञ्चलमै उपचाररत सुरक्षाकर्मी विकास तिमिल्सनाको टाउकोमा चोट लागेको छ । उनीसहित अन्य घाइतेको अवस्था सामान्य छ ।
पोखरामा प्रदर्शनको क्रममा ५ जना प्रदर्शनकारी र ४ जना सुरक्षाकर्मी घाइते भएको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । उनकाअनुसार आन्दोलनलाई उग्र बनाउन संलग्न २९ जनालाई नियन्त्रणमा लिइएको छ ।
बजार परिक्रमापछि प्रदर्शनकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । उनीहरूले मुख्यमन्त्री कार्यालयको सीसा र नजिकै चोकमा सरकारी गाडी तोडफोड गरे । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, गोली र पानीको फोहोर प्रहार गर्न थाल्यो । यसपछि पोखराको रत्नचोकमा ४ घण्टासम्म पटकपटक प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप भएको थियो ।
