पोखरा सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनपछि प्रहरीले हिनामिनामा १० करोड ६४ लाख बिगो माग गर्दै मुद्दा दर्ता गरेको छ ।
What you should know
पोखरा — पर्वतको कुश्मामा कार्यालय रहेको बैशाली सहकारी संस्थामा बचतकर्ताको १० करोड ६४ लाख रकम हिनामिनामा संलग्न रहेका ७४ जनाविरुद्ध प्रहरीले जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ ।
सहकारीमा भएको रकम हिनामिनाका अनुसन्धान अधिकृत सुमित श्रेष्ठका अनुसार हिनामिनामा संलग्न ७४ जनाबाट १० करोड ६४ लाख बिगो मागदाबी गर्दै प्रहरीले मुद्दा दर्ता गरेको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखरा एक महिनाअघि छानबिन गरेर दिएको प्रतिवेदनलाई आधार मानेर प्रहरीले अनुसन्धान थालेको हो ।
प्रहरीले हिनामिना गरेकाहरुलाई रकम दाखिला गर्न उर्दी गरेपछि एक महिनाको अवधिमा ८ करोड भन्दा धेरै बचतकर्ताको रकम फिर्ता भएको थियो ।
प्रहरीले अनुसन्धान थालेको एक महिनाको अवधिमा एउटै सहकारीमा रकम हिनामिना गरेकाहरुले यति धेरै रकम फिर्ता गरेको यो पहिलो घटना हो ।
सहकारीमा रकम हिनामिना भएको उजुरी पश्चात गत साउनमा सहकारी रजिस्ट्रारको कार्यालयले छानबिन गर्दा त्यहाँ १८ करोड ७६ लाख रकम हिनामिना गरेको ठहर गरेको थियो । प्रहरीले रकम हिनामिनामा संलग्नहरुलाई नगद फिर्ता गर्न दिएको समय सिमाभित्र ८ करोड नगद रकम फिर्ता भएको हो ।
त्यहाँ सहकारीको रकम हिनामिनामा संलग्न १ सय ५३ जनाविरुद्ध छानबिन सुरु गर्दा हिनामिनामा संलग्न हुने सेयर सदस्यहरुको संख्या ४ सय ११ जना पुगेको थियो ।
एउटै सहकारीको रकम हिनामिनामा ४ सय ११ जना संलग्न भएको यो नेपालको पहिलो घटना भएको छानबिनमा संलग्न प्रहरी अधिकृत श्रेष्ठले जानकारी दिए । ४ सय ११ जना सेयर सदस्य संगठित भएर रकम हिनामिनामा संलग्न भएको अनुसन्धानले देखाएको हो ।
प्रहरीका अनुसार १ सय ५३ जना हिनामिनामा संलग्न रहेर १८ करोड ७६ लाख हिनामिना भएकोमा हिनामिनामा संलग्नहरुले ८ करोड भन्दा धेरै रकम बुझाएपछि १० करोड ६४ लाख बिगो माग दाबी सहित प्रहरीले आइतबार साँझ अबेर अदालतमा मुद्दा दर्ता गरेको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गत असारमा वित्तीय विश्लेषक निर्मल गौतमलाई खटाएर बैशालीको रकम छानबिन गरेपछि सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको तथ्य बाहिरिएको थियो ।
सहकारीकी व्यवस्थापक कुमारी पुर्जाले सहकारीको सेयर सदस्यसमेत नरहेका स्थानीयबाट दैनिक, मासिक रकम संकलन गरेर त्यस्तालाई ऋण दिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । सेयर सदस्य बाहिरका व्यक्तिबाट बचत रकम संकलन गर्नु र ऋण दिनु सहकारी ऐन विपरीत हो ।
संस्थाका सञ्चालक समिति, र व्यवस्थापकको मिलोमतोमा रकम हिनामिना भएको पाइएको हो । सहकारीको रकम नक्कली ऋणि बनाएर निकासा गरिएको, त्यस्तो रकम सोझै ढिकुटी र व्यापार व्यवसायमा लगानी गरेर हिनामिना गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
व्यवस्थापक कुमारी पुर्जाले सञ्चालक समिति र ऋण उपसमितिलाई समेत जानकारी नदिई कर्जा लगानी गरेको पाइएको छ । व्यवस्थापक आफैंले एक करोड भन्दा बढी रकम हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनी आफैंले खेलाएको ढिकुटीमा सहकारीको पैसा कर्जा दिएर लगानी गराएकी छन् ।
कुमारीले ५ जना महिलालाई ८ करोड भन्दा धेरै ऋण दिएर हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समितिले गत असारमा निर्णय नै गरेर छानबिन गरिपाउँ भनेर आफूलाई पत्र पठाएपछि वित्तीय विश्लेषक निर्मल गौतमले यो सहकारीको हिसाब छानबिन गरेर प्रतिवेदन दिएका थिए ।
गौतमको प्रतिवेदनलाई आधार मानेर प्रहरीले फेरि विस्तृत अनुसन्धान गरेको थियो । सहकारीको रकम हिनामिनामा त्यहाँकी व्यवस्थापक कुमारी पुर्जा पुन(मगर), हालका अध्यक्ष गणेश पुन मगर, पूर्वअध्यक्ष गुमबहादुर पुन, कारोबारमा संलग्न स्थानीय महिला लतिफा बेगम, जरिना खातुन, सैजुन मिया, कमला कुमारी पुन मगर, सरिफा खातुन मिया, हिरामाया पुन, रामबहादुर पुन, दुर्गाबहादुर पुन मगर र नारायण शर्मा पौडेल रकम हिनामिनाका मुख्य दोषी हुन् ।
सहकारीको सिद्धान्त विपरीत सेयर सदस्यसमेत नरहेकाबाट बचत संकलन गरेर त्यस्ता सदस्यलाई कर्जा (ऋण) लगानी गरिएको छ । उनीहरु सहकारीको रकम हिनामिनामा संलग्न मुख्य दोषी भएको छानविन प्रतिवेदनमा उल्लेख छ ।
