पूर्वीनवलपरासीमा सामुदायिक विद्यालयका शिक्षक आन्दोलित

महासंघले सरकारसँग भएका सम्झौता प्रस्तावित शिक्षा ऐनमा समावेश नभएको भन्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । आफूसँग सरकारले सम्झौता गरेर पनि कार्यान्वयन नगरेको शिक्षकहरुको आरोप छ ।

भाद्र १३, २०८२

नवीन पौडेल

East Nawalparasi community school teachers are protesting

नवलपुर — नेपाल शिक्षक महासंघ पूर्वी नवलपरासी आन्दोलनमा उत्रिएको छ । जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरूमा धर्ना तथा ज्ञापनपत्र बुझाएको छ । शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीले पालिका प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको बताए । 

महासंघले सरकारसँग भएका सम्झौता प्रस्तावित शिक्षा ऐनमा समावेश नभएको भन्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । आफूसँग सरकारले सम्झौता गरेर पनि कार्यान्वयन नगरेको शिक्षकहरुको आरोप छ ।

नेपाल शिक्षक संगठन नवलपुरका जिल्ला अध्यक्ष टिकाराम डुम्रेले गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणी, बुलिङटार र बौदिकाली पालिकामा ज्ञापनपत्र बुझाएको बताए । 

कार्यक्रममा शिक्षक संगठन, शिक्षक, राहत शिक्षक लगायतका संगठनको उपस्थिति रहेको थियो । सरकारले तत्काल शिक्षकका माग नसमेटिए अझै सशक्त आन्दोलन गर्ने शिक्षक महासंघले चेतावनी दिएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully